कोरोना खोपको समस्या छैन : स्वास्थ्यमन्त्री

हेल्थपोस्ट नेपाल

काठमाडाैं – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड-१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको बताएका छन्।  समाजवादी प्रेस सङ्गठन मोरङले साेमबार आयोजना गरेकाे पत्रकार भेटघाटमा उनले खोप अभियान सात वटै प्रदेशमा तालिका बनाएर अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति सरकारको रहेको बताए। मन्त्री खतिवडाले कोरोनाविरुद्ध खोपको समस्या नरहेको जनाउँदै अहिले ४ करोड डोज खोप रहेको बताए।

समग्र जनसङ्ख्याका आधारमा ४० प्रतिशत जनताले खोप लगाइसकेको जानकारी दिँदै उनले खोपका लागि अस्थायी डेस्क पनि राखिने बताए। उनले भने, ‘बढी भीडभाड हुने सहरमा नियमित खोप सञ्चालन गर्ने सरकारको तयारी छ । हालसम्म दुई करोड ८० लाख डोज खोप लगाइसकिएको छ।’

उनले गत पुस ४ देखि १२ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई खोप लगाउने कार्य सञ्चालन भइसकेको बताए। उनका अनुसार अहिलेसम्ममा दुई डोज खोप लगाउने नागरिकको प्रतिशत ६० पुगेको छ।

सरकार ओमिक्रोनको रोकथाम, उपचार एवं नियन्त्रण गर्नका लागि तयारी गरिसकेको जनाउँदै उनले होल्डिङ सेन्टर निर्माण गर्ने र अस्पतालमा आइसियू, भेन्टिलेटरको व्यवस्थासँगै धेरै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइसकेको बताए। कोरोनाको महामारीका समयमा नागरिकले गरेको बीमा लाभग्राहीले प्राप्त गर्न सरकार र कम्पनीसँग छलफल भइरहेको उनले बताए।



Leave a Reply

Your email address will not be published.