कोरोना ‘सुनामी’ : अमेरिकालगायतका देशमा स्वास्थ्यकर्मीको ‘हाहाकार’

हेल्थपोस्ट नेपाल

काठमाडौं – अमेरिकामा कोरोना र यसको नयाँ भेरियन्ट ओमिक्रोनका बढ्दो केसहरूले यहाँको स्वास्थ्य प्रणालीलाई अपांग बनाएको छ। अस्पतालमा भर्ना भएका बिरामी हेर्न स्वास्थ्यकर्मीको पनि अभाव हुन थालेको छ। कर्मचारी अभावले बिरामीको उपचारमा प्रत्यक्ष असर परेको छ। यो अभावका कारण सर्वसाधारणदेखि सरकारसम्म सबै चिन्तित छन्।

अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले जारी गरेको पछिल्लो तथ्याङ्क निकै डरलाग्दो र चिन्ताजनक छ। जसमा भनिएको छ, देशका करिब १९ प्रदेशमा १५ प्रतिशतभन्दा कममात्र आइसियू बेड खाली छन्। अर्कोतर्फ केन्टकी, अल्बामा, इन्डियाना र न्यु ह्याम्पशायरमा अवस्था यति खराब छ कि यहाँका अस्पतालहरूमा १० प्रतिशतभन्दा कम आइसियू बेडहरू खाली छन्।

पछिल्लो समय अमेरिकामा तीव्र गतिमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अवस्था चिन्ताजनक बनेको छ। विज्ञहरूले यसलाई अमेरिकामा कोरोनाको सुनामी भनेका छन्।

कोरोना महामारी सुरु भएदेखि अहिले आएर दिनहुँ संक्रमितको संख्याले अमेरिकामा रेकर्ड बनाइरहेको छ। अमेरिकामा दुई पटक नयाँ कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ, जुन विश्वकै उच्च हो।

संक्रमणको बढ्दो दायराका कारण अहिले अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी संक्रमणको उच्च जोखिममा छन्। बढ्दो कोरोना केसका कारण वासिङ्टनका मेयरले अस्पतालहरूमा तत्कालका लागि अन्य बिरामी नहेर्न र कोर‍ोना संक्रमितको उपचारमा मात्र ध्यान दिन चिकित्सक तथा अस्पतालहरुलाई निर्देशनसमेत दिएका छन्।

कोरोनाको कहर अमेरिकामा मात्रै सीमित छैन, रुस र युरोपका अन्य देश पनि यसको चपेटामा परेका छन्।

रसियामा कोरोनाका नयाँ केस र यसबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ। रसियमा कुल संक्रमितको संख्या १ करोड ७ लाख नाघेको छ भने अहिलेसम्म ३ लाख १९ हजारको मृत्यु भइसकेको छ।

रुसी उपप्रधानमन्त्री तातियाना गोलिकोभाका अनुसार देशको राजधानी मस्को यसबाट सबैभन्दा बढी प्रभावित भएको छ। देशभर आउने कुल केसमध्ये आधा यहाँबाट मात्रै आउने गरेका छन्।

चीन पनि कोरोनाको महामारीबाट बच्न सकेको छैन। चीनमा हुन गइरहेको शीतकालीन ओलम्पिकमा कोरोना महामारीको छाया प्रष्ट देखिन थालेको छ। बेइजिङ शीतकालीन ओलम्पिक सुरु हुन अब दुई साता मात्र बाँकी छ। यसैबीच चीनमा प्रतिबन्धहरु थपिएको छ। यसअन्तर्गत विदेशबाट आउनेलाई समेत प्रतिबन्ध लगाइएको छ। चीनले आफ्ना नागरिकहरूलाई आवश्यक परेको बेला मात्रै यात्रा गर्न अनुमति दिएको छ।

बेलायतको बारेमा कुरा गर्दा, नयाँ अनुसन्धानले पत्ता लगाएको छ कि ओमिक्रोन युवा र बालबालिकामा तीव्र गतिमा फैलिरहेको छ। जसले अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढेको छ। तर, तीमध्ये धेरैजसोमा हल्का संक्रमणका लक्षण मात्र देखिएका छन्। खोपका कारण अहिलेसम्म यसका गम्भीर केसहरु पहिलेको तुलनामा कम देखिएको बताइएको छ। ओमिक्रोनका कारण एक वर्ष मुनिका ४२ प्रतिशत बालबालिकालाई अस्पताल भर्ना गर्नुपरेको छ।

इटालीमा पनि कोरोना महामारीको अवस्था उस्तै छ। इटालीमा शुक्रबार १ लाख ८६ हजार नयाँ कोरोना संक्रमित थपिएका छन्। यसभन्दा एक दिन अघि १ लाख ८४ हजार ६१५ केस दर्ता भएका थिए।

त्यस्तै फ्रान्समा कोरोना संक्रमित बढे पनि आइसियूमा भर्ना हुनेको संख्या घटेको छ।



Leave a Reply

Your email address will not be published.