वीरको प्रमुखमा डा. लोहनीको सरुवा रोकियो, डा. भुपेन्द्र यथावत

हेल्थपोस्ट नेपाल

काठमाडौं – मन्त्रीस्तरीय निर्णयबाट कोभिड युनिफाइड अस्पतालमा (वीर अस्पताल) को प्रमुखमा जिम्मेवारी दिइएका डा. गुणराज लोहनीको सरुवा रोकिएको छ। प्रधानमन्त्रीको निर्देशनमा लोहनीको वीरको प्रमुखमा भएको सरुवा रोकिएको हो। उक्त स्थानमा डा. भुपेन्द्रकुमार बस्नेतलाई यथावत राख्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

कांग्रेसनिकट चिकित्सकले प्रधानमन्त्रीलाई भेट्दै आफूहरुको सरकार भए पनि सधैं अन्यायमा पर्दै आएको बताएका थिए। त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूसँग सल्लाह नै नगरी सरुवाको निर्णय स्वास्थ्यमन्त्रीले गरेको भन्दै तत्काल निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएका थिए।

डा. लोहनीलाई निर्देशकको जिम्मेवारी दिइएपछि बुधबार केही कर्मचारीले विरोधसमेत गरेका थिए। उनीहरुले प्लेकार्डसहित प्रदर्शन गर्दै डा. लोहनीलाई अस्पताल छिर्न नदिने बताएका थिए।

उनीहरुले ‘पटकपटक पदाधिकारी परिवर्तन मात्र समस्याको समाधान होइन, वीर अस्पतालको विकास देख्न नचाहनेहरुलाई नै प्रमुख पदको मोह किन, कर्मचारीको समस्या जस्ताको तस्तो पदाधिकारी परिवर्तन किन यति सस्तो, अस्पतालमा दरबन्दीरत पदाधिकारीले बुझ्न नसकेको समस्या बाहिरबाट आउनेले कति बुझ्लान्’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

आन्दोलनमा उत्रिएको पक्षले डा. लोहनी न्याम्स विरोधी गतिविधिमा संलग्न रहेको आरोपसमेत लगाएका थिए। स्वास्थ्य मन्त्रालयको नीति तथा अनुगमन विभाग प्रमुखमा रहँदा डा. लोहनी न्याम्स विरोधी गतिविधिमा संलग्न रहेको उनीहरुको आरोप छ।

मन्त्रीस्तरीय निर्णयबाट गत मंगलबार डा. भुपेन्द्रकुमार बस्नेतलाई जिम्मेवारीबाट हटाएर डा. लोहनीलाई प्रमुखको जिम्मेवारी दिइएको थियो।



One thought on “वीरको प्रमुखमा डा. लोहनीको सरुवा रोकियो, डा. भुपेन्द्र यथावत

  1. ङ भूपेनद्र, डा. लोहनी दुवै असल र राम्रा दुवैलाइ लडाउने फोहरी राजनीति कहिले सम्म चल्ने हो

Leave a Reply

Your email address will not be published.