कोरोना कहर : नेताहरू संक्रमित भएपछि राजनीतिक गतिविधि ठप्प

हेल्थपोस्ट नेपाल

काठमाडौं – कोरोना संक्रमण तीव्र रूपमा फैलिन थालेपछि मुलुकको राजनीतिक गतिविधि पनि प्रभावित भएको छ। तीन दिनभित्र कोरोना संक्रमणको दर दोब्बर हुनेगरी वृद्धि भएपछि राजनीतिक कार्यक्रमहरू प्रभावित भएका हुन्।

काठमाडौंमा महाधिवेशन सकिएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, मातृकाप्रसाद यादवलागयतमा कोरोना संक्रमण पुष्टि भयो।

प्रचण्डलाई संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसे। पिसिआर रिपोर्ट निगेटिभ आइसके पनि उनी आइसोलसनमै बसिरहेका छन्।

प्रधानमन्त्री देउवासहित प्रधानमन्त्री निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पिसिआर परीक्षण गराइएको थियो।

देउवाको पिसिआर रिपोर्ट निगेटिभ आए पनि प्रधानमन्त्री कार्यालयका भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ देखिएको थियो।

दैनिक सम्पर्कमा भएका व्यक्तिमा कोरोना पुष्टि भएपछि देउवाले फेरि पिसिआर गर्न लागेका छन्।

देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्रीले बिहीबार फेरि पिसिआर गराउने बताए। उनकाअनुसार प्रधानमन्त्री देउवाले हालका लागि राजनीतिक भेटघाट तथा सरकारी औपचारिक सबै काम रद्द गरेका छन्।

त्यसलगत्तै शिक्षामन्त्री देवेन्द्र पौडेल, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई पनि कोरोना संक्रमण देखियो।

मन्त्री पौडेललाई संक्रमण देखिएपछि अन्य मन्त्रीहरू पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

राजनीतिक दलका शीर्ष नेतादेखि मन्त्री र प्रशासकहरूमा धमाधम कोरोना संक्रमण पुष्टि हुनथालेपछि दलहरूले आफ्ना गतिविधिलाई स्थगित गरेका छन्।

मन्त्रीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार बस्ने नियमित मन्त्रिपरिषदको बैठक स्थगित भयो।

हालै महाधिवेशन सकेको माओवादी केन्द्रले पुस २५ गतेलाई केन्द्रीय कमिटी बैठक बोलाएको थियो। बैठकबाट पदाधिकारी चयन गर्ने तयारी थियो। तर, नेताहरूमा कोरोना संक्रमण देखिएपछि केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।

कोरोना संक्रमण तीब्र गतिमा बढेपछि सत्तारुढ दल एकीकृत समाजवादीले धेरै व्यक्तिको उपस्थिति हुने सभा तथा सम्मेलन हाललाई स्थगित गरेको छ। आन्तरिक भेला, बैठक तथा प्रशिक्षणलगायतका कार्यक्रम आयोजना गर्दा सकेसम्म वैकल्पिक माध्य अपनाउन उसको निर्देशन छ।

‘धैरै व्यक्तिहरूको उपस्थिति हुने सभा तथा सम्मेलनहरू हाललाई स्थगित गर्न र आन्तरिक भेला बैठक तथा प्रशिक्षण कार्यक्रमहरूको आयोजना गर्दा सकेसम्म वैकल्पिक माध्यम अपनाउन निर्देशन गरिन्छ,’ अध्यक्ष माधवकुमार नेपालले पार्टी नेता तथा कार्यकर्ताहरूका लागि जारी गरेको निर्देशनमा भनिएको छ।

निर्देशन जारी गरेकै भोलिपल्ट मंगलबार अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि भएको थियो।

विवेकशील साझा पार्टीले पनि कोरानाका कारण पूर्वनिर्धारित पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ स्थगित गर्यो।

यसैगरी राप्रपा नेता कमल थापाले पनि पुस २७ गतेबाट गर्ने भनेको राष्ट्रिय एकता अभियान स्थगित गरे। कोरोना संक्रमण बढेपछि कार्यक्रम स्थगित गरिएको थापाले जानकारी दिएका थिए।

कोरोना संक्रमण बढ्न थालेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि प्रदेश अधिवेशन पछाडि धकेलेको छ। माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशनलाई उसले माघको २८ र २९ का लागि सारेको हो।

प्रदेश अधिवेशन सारे पनि एमालेले कोरोना संक्रमणको त्रासकै बीच कतिपय जिल्लाहरूमा भिडभाडमै जिल्ला अधिवेशनहरू सम्पन्न गरेको छ।



Leave a Reply

Your email address will not be published.