नियुक्तिको खबर आएको २४ घण्टा नबित्दै वीरका प्रमुख डा. लोहनीविरुद्ध कर्मचारीको प्रदर्शन

काठमाडौं – कोभिड युनिफाइड अस्पतालमा (वीर अस्पताल) डा. गुणराज लोहनीलाई निर्देशकको जिम्मेवारी दिइएपछि केही कर्मचारी विरोधमा उत्रिएका छन्। उनीहरुले प्लेकार्डसहित प्रदर्शन गर्दै डा. लोहनीलाई अस्पताल छिर्न नदिने बताएका छन्।
उनीहरुले ‘पटकपटक पदाधिकारी परिवर्तन मात्र समस्याको समाधान होइन, वीर अस्पतालको विकास देख्न नचाहनेहरुलाई नै प्रमुख पदको मोह किन, कर्मचारीको समस्या जस्ताको तस्तो पदाधिकारी परिवर्तन किन यति सस्तो, अस्पतालमा दरबन्दीरत पदाधिकारीले बुझ्न नसकेको समस्या बाहिरबाट आउनेले कति बुझ्लान्’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।
आन्दोलनमा उत्रिएको पक्षले डा. लोहनी न्याम्स विरोधी गतिविधिमा संलग्न रहेको आरोपसमेत लगाएका छन्। स्वास्थ्य मन्त्रालयको नीति तथा अनुगमन विभाग प्रमुखमा रहँदा डा. लोहनी न्याम्स विरोधी गतिविधिमा संलग्न रहेको उनीहरुको आरोप छ।
उनीहरुले कर्मचारी र अस्पतालका समस्या बुझेका व्यक्तिलाई अस्पताल प्रमुखमा ल्याउन र त्यस्ता व्यक्ति अस्पताल भित्रैबाट नियुक्त गर्न पनि माग गरेका छन्।
मन्त्रीस्तरीय निर्णयबाट गत मंगलबार डा. भुपेन्द्रकुमार बस्नेतलाई जिम्मेवारीबाट हटाएर डा. लोहनीलाई प्रमुखको जिम्मेवारी दिइएको थियो।