काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि प्रजिअहरुको बैठक बस्दै, होला त ‘स्मार्ट लकडाउन’?

हेल्थपोस्ट नेपाल

काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ। बैठक आजै दिउँसो बस्ने भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।

गृहमन्त्रालयले गत सोमबार ८ बुँदे निर्देशन दिएपछि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको हो। गृहले सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै जम्मा हुन रोक लगाएको छ भने भेला, मेला तथा महोत्सव नगर्न र नगराउन आवश्यक व्यवस्थासहित जिल्लामा परिपत्र गरेको छ।

त्यस्तै सार्वजनिक ठाउँहरू, सरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटोको आधारमा मात्रै प्रवेशको व्यवस्था गर्न पनि सुरक्षा निकाय तथा प्रशासनलाई निर्देशन दिएको छ।

शर्माले उपत्यकामा बढ्दै गएको संक्रमण र गृहको परिपत्रका विषयमा बैठकमा छलफल हुने र संक्रमण फैलिन नदिन केही निर्णयहरु हुनसक्ने बताइन्। ‘हामीहरु छलफलमा छौं, के गर्ने भन्नेबारे तीन जिल्लाका प्रमुखबीच छलफल भइरहेको छ। साँझसम्म निर्णय आउँछ।’, शर्माले हेल्थपोष्टसँगको कुराकानीमा भनिन्।

बैठकबाट केही प्रतिबन्धात्मक व्यवस्था उपत्यकामा लागू हुनसक्ने बताइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *