काबुल विमानस्थलमा हराएका बालकको ६ महिनापछि परिवारसँग पुनर्मिलन

हेल्थपोस्ट नेपाल

काठमाडौं – अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिक र सहयोगी फिर्ता लैजाने क्रममा आमाबुवाबाट छुट्टिएर हराएका एक बालकको अन्ततः परिवारसँग पुनर्मिलन भएको छ।

तालिबानले गत अगस्तमा अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएपछि अफगानिस्तानबाट धेरै मानिस भागेर अन्यत्र जाने प्रयास गरेका थिए।

हजारौं मानिसहरू काबुल विमानस्थलमा छिर्न लागेको बेला भिडमा किचिन नदिन दुईमहिने बालक सोहेल अहमदीलाई एक अमेरिकी सैनिकलाई समात्न दिइएको थियो।

तर, विमानस्थलभित्र प्रवेश गरिसकेपछि सोहेलको परिवारले उनलाई फेला पार्न सकेनन्। सोहेलको खोजी तीव्र गरिए पनि सबै प्रयासहरू असफल भए।

उनका पिता मिर्जा अलि अहमदी अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको काम गर्थे। सोहेल फेला नपरेपछि मिर्जा अलि र उनकी पत्नी अरू चार सन्तानसहित अमेरिका जाने विमान चढे।

महिनौंसम्म सोहेल कहाँ छन् भन्ने उनीहरूलाई अत्तोपत्तो थिएन।

सोहेल अगस्त १९ तारिखदेखि हराइरहेका थिए र उनका आमाबुवालाई उनी कहाँ छन् भन्ने कुनै अत्तोपत्तो थिएन।

तर, सोहेलको खोजी परिवारले गरिरहेको वियषमा गत नोभेम्बरमा रोयटर्समा समाचार आएपछि २९ वर्षीय ट्याक्सीचालक हमिद सफीको घरमा उनी छन् भन्ने पत्ता लाग्यो।

रोयटर्सका अनुसार सफीले सोहेललाई विमानस्थलको भुइँमा एक्लै रोइरहेको अवस्थामा फेला पारेका थिए।

सफीले सोहेलका आमाबुवालाई खोज्ने सक्दो प्रयास गरे। तर, सफलता पाएनन्। र, अन्त्यमा उनलाई आफ्नै घरमा लगेर आफ्नो सन्तानसरह हुर्काउने निधो गरे। उनी विवाहित हुन् र उनका छोराछोरी पनि छन्।

सफी परिवारले सोहेलको नाम मोहम्मद अबेद राख्यो। सफीको फेसबुक पेजमा उनीहरूले सोहेलसहित परिवारको तस्बिर राखे।

सोहेल कहाँ छन् भन्ने पुष्टि भएपछि उनका हजुरबुवा मोहम्मद कसिम रजावीले उत्तरपूर्वी बदाख्सान प्रान्तदेखिको लामो यात्रा गरेर काबुल आइ आफ्नो नाति फिर्ता गर्न आग्रह गरे।

तर, सफीले फिर्ता गर्न अस्वीकार गरेका थिए।

रोयटर्स समाचारसंस्थाका अनुसार सफीले त्यसका लागि उनका परिवारलाई पनि अमेरिका लगिनुपर्ने माग गरेका थिए।

सात हप्ताको वार्तापछि र सफीलाई केही समय थुनामा राखेपछि तालिबान प्रहरीले दुई परिवारबीच कुरा मिलाएको थियो।

त्यसैअनुसार शनिबार ती बालक उनको हजुरबुवालाई फिर्ता गरिएको रोयटर्सले जनाएको छ।

सोहेलको परिवारले भिडिओमार्फत पुनर्मिलन भएको दृश्य हेर्न पाउँदा आफूहरू निकै खुसी भएको बताएको छ।

‘गीत गाउने, नाच्ने गरेर उत्सव मनाइयो,’ रजावीले भने, ‘साँच्ची नै विवाहमा जस्तै रमाइलो भयो।’

सोहेललाई अमेरिका पुर्याउने व्यवस्था छिट्टै गरिने आशा परिवारले व्यक्त गरेको छ।

उनीहरू अहिले अमेरिकाको मिशिगन राज्यमा बसिरहेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *