भिआइपीहरू कोरोना संक्रमणको जोखिममा परेपछि मन्त्रिपरिषद बैठक प्रभावित

हेल्थपोस्ट नेपाल

काठमाडौं – भिआइपीहरूमा कोरोना संक्रमण देखिएसँगै मन्त्रिपरिषद बैठकसमेत प्रभावित भएको छ। शीर्ष नेताहरू संक्रमित भएपछि हरेक सोमबार बस्ने नियमित मन्त्रिपरिषद बैठक नबस्ने भएको हो।

स्रोतका अनुसार शीर्ष नेताहरूमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार बस्ने मन्त्रिपरिषद बैठक स्थगित गरिएको हो।

कोरोनाका कारण प्रधानमन्त्रीका साथै अन्य कतिपय मन्त्रीहरू क्वारेन्टिनमा रहेकोले मन्त्रिपरिषद बैठक प्रभावित भएको स्रोतले जनायो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य मन्त्रीहरू कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्डलाई शनिबार संक्रमण पुष्टि भएपछि देउवाका साथै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होम आइसोलेसनमा छन्।

प्रधानमन्त्रीसहित मन्त्रीहरूको रिपोर्ट निगेटिभ आएपछिमात्रै मन्त्रिपरिषद बैठक बस्नेछ।

प्रधानमन्त्री देउवाको सोमबार पिसिआर परीक्षण भएको र साँझसम्म रिपोर्ट आउने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

‘आइतबार नै परीक्षण गर्ने कुरा थियो। तर, आजमात्रै पिसिआर भएको छ,’ उनले भने, ‘साँझसम्म रिपोर्ट आउने कुरा छ।’

कोरोना संक्रमित बढ्न थालेपछि नियन्त्रण र व्यवस्थापनका लागि कतिपय निर्णयहरू मन्त्रिपरिषदबाटै हुने भए पनि भिआइपीहरू संक्रमणको जोखिममा परेका छन्।

आइतबार बसेको सिसिएमसीको बैठकले विद्यालय बन्द गर्नदेखि कोरोना नियन्त्रण र व्यवस्थापन सन्दर्भमा १३ वटा सिफारिस गरेको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *