विद्यालय बन्द गर्ने सिसिएमसीको सिफारिसमा शिक्षा मन्त्रालय छलफलमा

हेल्थपोस्ट नेपाल

काठमाडौं – शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्नबारे औपचारिक निर्णय गर्ने तयारी थालेको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) व्यवस्थापन समितिको बैठकले माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस गरेपछि शिक्षा मन्त्रालयले औपचारिक निर्णयको तयारी थालेको हो।

सिसिएमसीको आइतबार बसेको बैठकले ओमिक्रोन भेरिएन्टको संक्रमण बढ्दै गएको र १८ वर्षमुनिका सबै बालबालिकाले खोप पाउन नसकेकोले विद्यालय बन्द गर्न सिफारिस गरेको थियो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहप्रवक्ता धनबहादुर श्रेष्ठले आधारभूत तथा माध्यमिक तहका विद्यालयहरू बन्द गर्नबारे मन्त्रालयमा सोमबार छलफल हुने बताए।

‘सिसिएमसीले विद्यालयहरू बन्द गर्न सिफारिस गरेको छ,’ हेल्थपोष्टसँग श्रेष्ठले भने, ‘आज मन्त्रालयमा छलफल हुँदैछ। साँझसम्म सूचना जारी हुन्छ।’

श्रेष्ठले सिसिएमसीले जारी गरेको सिफारिसको आसयअनुसारकै मन्त्रालयको पनि निर्णय आउने सम्भावना रहेको जानकारी दिए।

‘यसअघि पनि सिसिएमसीले गरेको सिफारिसअनुसार नै निर्णयहरू भएका छन्,’ उनले भने, ‘यसपटक पनि त्यसै आसयको निर्णय हुने सम्भावना छ। साँझसम्म औपचारिक निर्णय नै आउला।’

सिसिएमसीले जाडो विदा लम्ब्याएर त्यस अवधिलाई बालबालिकालाई खोप दिन प्रयोग गर्ने उद्देश्यले माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *