कोरोना संक्रमणको जोखिममा ‘नेताहरु’

काठमाडौं – नेपालमा कोरोना भाइरसको जोखिम दिनानुदिन बढ्दै गएको छ। संक्रमणदरमा लगातार बढिरहेको छ। छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणदर निकै तीव्र गतिमा उकालो लागिरहेको छ जसले नेपालमा पनि जोखिम बढाएको छ।

माओवादी महाधिवेशनले बढाएको जोखिम

पुस ११ गतेबाट नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन तथा राष्ट्रिय सम्मेलन प्रज्ञा भवन कमलादीमा सुरु भएको थियो। उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न पार्टीका शिर्षस्थ नेता एवम् माओवादी कार्यकर्ताहरुको उपस्थिति थियो। उक्त महाधिवेशन १८ गतेसम्म चलेको थियो।

उक्त महाधिवेशनमा सहभागी भएका अधिकांश माओवादीका शीर्ष नेता कोरोना संव्रmमित भएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठलाई कोरोना पुष्टि भएको छ। यस्तै माओवादी केन्द्रका नेता शक्ति बस्नेत दम्पतीमा पनि कोरोना पुष्टि भएको छ। अहिले उनीहरु होम आइसोलेसनमा बसेका छन्। यस्तै केन्द्रीय सदस्य सुवोध श्रीपाइलीलाई र दाहालका स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। दाहालसँग नजिक भएका सम्पूर्णलाई कोरोना परिक्षण गर्न दाहालको सचिवालयले आग्रह पनि गरेको छ।

माओवादी केन्द्रको महाधिवेशन सकियलगत्तै बसेको सत्ता गठबन्धनको बैठकमा अध्यक्ष दाहाल, प्रधानमन्त्री देउवासहित विभिन्न पार्टीका शीर्ष नेता पनि सहभागी भएकाले उनीहरुमा पनि जोखिम बढेको छ।

माओवादी केन्द्रको महाधिवेशन उद्घाटन समारोहमा देउवासहित नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा मालेका महाचिव सिपी मैनाली, राप्रपाका महामन्त्री कुन्ती शाही, नेकपा क्रान्तिकारीका नेता सिपी गजुरेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, लोकतान्त्रीक समाजवादी पार्टी नेपालका नेता अनिल कुमार झालगायतका नेताहरु शुभकामना दिन अतिथिको रुपमा सहभागी भएका थिए। सहभागी नेताहरु एउटै स्टेजमा बसेका थिए। उनीहरुमा संक्रमणको जोखिम बढेको छ।

देशभरबाट १७४२ जना प्रतिनिधि महाधिवेशनमा सहभागी भएका थिए। उनीहरुमा पनि संक्रमणको जोखिम छ। उनीहरुबाट समुदायस्तरमै संक्रमण फैलिएको हुनसक्ने आशंकासमेत गरिएको छ।

प्रधानमन्त्री र सञ्चारमन्त्री होम आइसोलेसनमा

दाहाललाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अहिले होम आइसोलेसनमा बसेका छन्। आइसोलेसनमा रहनुअघि देउवाले गत शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटेका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *