माताको भर पर्दा बालिकाले गुमाइन् ज्यान

हेल्थपोस्ट नेपाल

काठमाडौं – सुविधा सम्पन्न अस्पताल रहेका काठमाडौं उपत्यकामै माताको भर परेर झारफुक गर्दा एक बालिकाको अकालमा मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी नगरपालिका–२ घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका–७ बस्ने वर्ष १४ की बालिका रहेकी जनाइएको छ।

महानगरीय प्रहरी परिसरका अनुसार उक्त घटनाा संलग्न काठमाडौंको रानीवनमा बस्ने माता भनिने ४८ वर्षकी उमा शाही ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ। उनले त्यहाँ कोठा भाडामा लिई झारफुक गर्ने गरेको र सोही क्रममा ति बालिका बेहोस भएको जनाइएको छ।

तत्काल उपचारका लागि मनमोहन मेमोरियल अस्पतालमा लगिएकोमा बालिकाको मृत्यु भएको थियो। उक्त सूचना प्रहरीले अस्पतालको चिकित्सकबाट प्राप्त गरेपछि अनुसन्धानमा प्रहरी टोली खटाइएको थियो। अनुसन्धानका क्रममा आमाले २२ दिन पहिले बालिकालाई उपचारको लागि ठकुरीको झारफुक केन्द्रमा ल्याइ छाडेको खुल्न आएको छ। त्यसपछि उनको क्रमशः स्वास्थ्य नाजुक बन्दै गएको थियो। अस्पताल लैजानुपर्ने बिरामीलाई झारफुक केन्द्रमा लैजाँदा यसरी बालिकाले अकालमै ज्यान गुमाउनुपरेको देखिएको छ।

शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पठाइएको छ। उनलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। धामी/झाक्री, झारफुकजस्ता अन्धविश्वासमा परी एक नाबालिकाको ज्यानै जानेसम्मको कार्य आफैंमा निन्दनीय भएकाले यस्ता गतिविधिप्रति सचेत हुन प्रहरीले अनुरोध गरेको छ।



Leave a Reply

Your email address will not be published.