जनस्वास्थ्य संघको नेतृत्व प्रगतिशील समूहको हातमा, अध्यक्षमा हारे पनि पेशागत समूहलाई दुई तिहाई

काठमाडाै‌ं-नेपाल जनस्वास्थ्य संघ (नेफा)को अध्यक्षमा प्रगतिशील समूहका वसन्त अधिकारी निर्वाचित भएका छन्। शनिबार सम्पन्न मतदानबाट अधिकारीले कांग्रेस निकटकाे  पेशागत समूहका महेश्वर श्रेष्ठलाई पराजित गरेका हुन्।

खसेको १ हजार ८८ मतमध्ये अधिकारीले ५९२ ल्याए भने श्रेष्ठले ५६५ मा चित्त बुझाउनु पर्‍याे। प्रतिस्पर्धाबाट बाहिरिएका कृष्णमान शाक्यले १९ मत पाए।

राजनीतिक आस्थाका आधारमा पेशागत समूहको वर्चश्व रहेको नेफामा अध्यक्षसहित दुई सदस्य प्रगतिशील समूहले हात पारेकाे हाे। प्रतिक खनाल र बिजेश बस्नेतले प्रगतिशील समूहका तर्फबाट सदस्य जितेका छन्।

महासचिव, उपाध्यक्षसहित सबै पदाधिकारी र ७ सदस्य पदमा भने पेशागत समूहले जित निकालेको छ। सम्पूर्ण पदमा हेर्दा पेशागत समूहले ८६ प्रतिशत हाराहारी पदमा जित हात पारेको छ।

खासगरी श्रेष्ठको पराजय पछाडि पार्टीको प्रत्यक्ष हस्तक्षेपमा टिकट बाँड्नुलाई कारण मानिएको छ।

श्रेष्ठले जनस्वास्थ्यकर्मीका भावनाभन्दा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडको दबाब र प्रभावमा जनस्वास्थ्यकर्मीमाझ लोकप्रिय रहेका कृष्णमान शाक्यलाई पछाडि पारेर टिकट हात पारेकाे बताइएकाे छ।

हालैमात्रै स्वास्थ्यराज्यमन्त्रीको सल्लाहकार र पछिल्लोपटक प्रदेश निर्देशकसमेत रहेका श्रेष्ठले अवसरजति सबै आफैं लिएको भन्दै जनस्वास्थ्यकर्मीमाझ बढेको असन्तुष्टि नै पेशागत नेतृत्व पराजयको कारण बनेको जनस्वास्थ्यकर्मीहरु बताउँछन्।

पार्टी नेतासँग प्रगाढ सम्बन्धकै आधारमा जनस्वास्थ्यकर्मीलाई सहयोग नगर्ने स्वभावका कारण संगठन पराजित भएको भन्दै कांग्रेस निकट जनस्वास्थ्यकर्मीहरु रुष्ठ बनेका छन्।

पेशागत समूहबाट मैदानमा उत्रिएका श्रेष्ठसहित खकीन्द्र भण्डारी र धनप्रसाद पौडेलले चुनाव हारेका छन्।

संघको नयाँ नेतृत्व
पद                      नाम                                     समूह
अध्यक्ष                 वसन्त अधिकारी                      प्रगतीशील
उपाध्यक्ष              बिमला भट्ट                              पेशागत
महासचिव            सागर दाहाल                           पेशागत
सचिव                  रोशन लामा                              पेशागत
कोषाध्यक्ष            चेतराज पण्डित                        पेशागत
सहकोषाध्यक्ष       चेतराज पण्डित                       पेशागत
सहकोषाध्यक्ष       उमा थापा                                पेशागत

सदस्यहरुमा
सुदिप चिलवाल               पेशागत
अञ्जना खड्का               पेशागत
प्रतिक खनाल                प्रगतीशील
बिञ्जोला श्रेष्ठ                  पेशागत
बिजेश बस्नेत                 प्रगतीशील
दयाकृष्ण पन्त               पेशागत
रामानन्द पण्डित           पेशागत
अम्बिका बानियाँ          पेशागत
रणधीर यादव              पेशागत

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *