काठमाडौं महानगरपालिकाका ६३ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

हेल्थपोस्ट नेपाल

काठमाडौं – काठमाडौं महानगरपालिकामा ६३ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्णमात्रा खोप लगाएका छन्। हालसम्म महानगरपालिकामा खोप लगाउन लक्षित उमेर समूहमध्ये ६३ प्रतिशतले पूर्णमात्रा र ७५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको कामपा जनस्वास्थ्य विभागले जनाएको छ। पछिल्लो समय कोरोना भाइरस संक्रमण बढिरहेकाले पनि कामपाले खोप कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाएको जनाएको छ।

कामपा जनस्वास्थ्य विभागका प्रमुख हरि कुँवरका अनुसार अब दोस्रो मात्रा खोप लगाउन बाँकी रहेका र दुवै मात्रा लगाउनु पर्ने लक्षित समूहका लागि पनि खोप कार्यक्रम तीव्र रुपमा अघि बढाइएको छ। काठमाडौंमा खोप लगाउने १५ लाख ६३ जना लक्षित समूहका छन्। अहिले कामपाको ३२ मध्ये ११ स्थानबाट खोप कार्यक्रम दैनिक रुपमा नै सञ्चालन भइरहेको छ भने काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य चार नाकामा पनि स्वास्थ्य टोली खटाएर खोप कार्यक्रम सञ्चालन भइरहेको कामपाले जनाएको छ।

पछिल्लो समय हरेक दिन कोरोना भाइरस संक्रमण बढिरहेको छ, विश्वका अन्य मुलुक र छिमेकी देश भारतमा पनि प्रतिदिन कारोना संक्रमित र मृतकको संख्या बढिरहेकाले यसबाट हुने मानवीय क्षति कम गर्नका लागि पनि खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने कुँवरको भनाइ छ।

‘यसका लागि नागरिक पनि उत्तिकै सचेत हुनुपर्ने देखिन्छ, भीडभाड कम गर्ने र सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्ने काम जनताको नै हो। सबैको सहकार्य भए विगतमा झैं यस पटक पनि यसबाट हुने क्षतिलाई कम गर्न सकिन्छ’, उनले भने। अहिले देशको कुल जनसंख्याको ३५ दशमलव ९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने ४८ दशमलव ५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन्।



Leave a Reply

Your email address will not be published.