भारतमा ओमिक्रोन संक्रमितको पहिलो मृत्यु

हेल्थपोस्ट नेपाल

एजेन्सी – भारतमा कोरोनाको ओमिक्रोन भेरियन्ट संक्रमित एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । यो भारतमा ओमिक्रोन संक्रमित बिरामीको पहिलो मृत्यु हो।

राजस्थानका ७४ वर्षीय वृद्धको ओमिक्रोनका कारण मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मृतक मधुमेहका बिरामी थिए । भारतमा हालसम्म ओमिक्रोन भेरियन्टबाट २६ सय ३० जनाभन्दा बढी संक्रमित भइसकेका छन्।

भारतमा बिहीबार कोरोना संक्रमणका ९० हजार बिरामी फेला परेका छन् । यो संख्या गत साताभन्दा ६ गुणा बढी हो। ओमिक्रोन भेरियन्टले संक्रमणको दर बढाएको विज्ञहरूको भनाइ छ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ३२५ जनाको मृत्यु भएको छ। तीमध्ये एकजनाको ओमिक्रोनका कारण मृत्यु भएको हो।

‘प्राविधिक रूपमा यो ओमिक्रोनसँग सम्बन्धित मृत्यु हो । मृतक वृद्ध थिए र मधुमेहलगायत स्वास्थ्य समस्याबाट ग्रसित थिए,’ स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालले प्रेस ब्रिफिङमा भने।

इन्डियन एक्सप्रेसका अनुसार राजस्थानको उदयपुरस्थित अस्पतालमा १५ डिसेम्बरमा भर्ना भएका उनको १५ दिनपछि मृत्यु भएको हो । चिकित्सकहरूका अनुसार उनले कोभिड–१९ खोपको पूर्ण मात्रा लगाएका थिए।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च प्रमुख बलराम भार्गवका अनुसार ओमिक्रोनका कारण भारतभर कोरोनाको प्रसार तीव्र गतिमा देखिएको छ । मन्त्रालयका सहसचिव अग्रवालको भनाइमा पश्चिम बंगाल, दिल्ली, केरला, तमिलनाडु, कर्नाटक र झारखण्डलाई सरकारले ‘इमर्जिङ स्टेट्स अफ कन्सर्न’ सूचीमा राखेको छ । ती राज्यमा कोरोना संक्रमित ह्वात्तै बढेका छन्।



Leave a Reply

Your email address will not be published.