दाङमा विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय नै बन्द

हेल्थपोस्ट नेपाल

दाङ – दाङस्थित तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तुलसीपुर-८ स्थित अस्वारा मावि, तुलसीपुर–६ स्थित राप्ती बाल एकाडेमी र जनता सांस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीका अनुसार अस्वारामा तीन, सुस्तश्रवनमा ६ विद्यार्थी तथा पाँचजना शिक्षकमा संक्रमण पुष्टि भएको छ।

त्यस्तै राप्ती बाल एकेडेमीमा अध्ययनरत दुई विद्यार्थी र जनता संस्कृत माविका एक शिक्षिकामा संक्रमण पुष्टि भएको छ। उनीहरुलाई ‘ओमिक्रोन’ भएको हो वा होइन् भनी परीक्षणका लागि टेकुमा पठाइएको र आइतबार रिपोर्ट आइपुग्ने उनको भनाइ छ। विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएपछि अस्वारा माविलाई एक हप्ताका लागि बन्द गरिएको छ।

पछिल्लो समय शिक्षक र विद्यार्थीमा संक्रमण देखिएको भन्दै यसका लागि सचेत हुन आवश्यक रहेको उनले बताए। ‘विद्यार्थी र शिक्षकमा नै कोरोना देखिएको छ’, जनस्वास्थ्य निरीक्षक केसीले भने, ‘यसले स्थिति भयावह ल्याउन सक्छ, त्यसैले सचेतना फैलाउन आवश्यक छ।’ केही समयका लागि विद्यालय बन्द गर्ने अवस्था आउन सक्ने उनको भनाइ छ।

मेट्रो अस्पतालका ६ स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको उनले जानकारी दिए। साथै दुईजना उपमहानगरपालिकाका कर्मचारीमा पनि कोरोना देखिएको छ। प्रायः कोही भारतबाट आएका हुन्, भने कोही पोखरा, काठमाडौंलगायतका स्थानमा ‘टुर’ गएकाहरु रहेका निरीक्षक केसीले बताए।

उनीहरुमा घाँटी दुख्ने, ज्वरो आउने, जिउ दुख्ने समस्या देखिने गरेको छ। प्राय: भेरोसेल, कोभिसिल्ड खोप लगाएकालाई नै संक्रमण देखिएको र लक्षण पनि देखिने गरेको छ। अहिलेसम्म तुलसीपुरमा ३९ सक्रिय संक्रमित छन्। तीमध्ये ११ मात्रै खोप नलगाएका हुन्। राप्ती बाल एकाडेमीका प्राचार्य ठाकुर डाँगीका अनुसार ती संक्रमित भनिएका विद्यार्थी केही दिनदेखि विद्यालय नआएको जानकारी दिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *