भारतमा कोरोना संक्रमण ‘अनियन्त्रित’ बन्दै, एकै दिन थपिए ९१ हजार संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं–भारतमा कोरोनाको तेस्रो लहर ‘अनियन्त्रित’ बन्दै गएको छ। २४ घण्टामा करिब ९१ हजार नयाँ संक्रमित थपिएका छन्।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ९० हजार ८ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो। यो ७ महिनायताकै सबैभन्दा धेरै हो। यसअघि १० जुनमा ९१ हजार ८ सय ४९ मा संक्रमण देखिएको थियो।

सोही अवधिमा १९ हजार १ सय ५२ संक्रमित निको भएका छन् भने ३२५ जनाको मृत्यु भएको छ। भारतमा हलसम्म साढे ३ करोडभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ भने ३ करोड ४३ लाख निको भएका छन्। हालसम्म कोरोना संक्रमणबाट ४ लाख ८२ हजारको मृत्यु भइसकेको छ भने सक्रिय संक्रमितको संख्या २ लाख ७५ हजार पुगेको छ।

राजधानी दिल्लीमा १० हजार ६ सय ६५ जनामा संक्रमण देखिएको छ। ओमिक्रोनका कारण संक्रमण तीव्र गतिमा फैलिएको बताइएको छ।

कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले सबै विभागका अधिकारी र कर्मचारीको बिदा रद्द गरेको छ। जसअनुसार बिरामी बिदाबाहेक अन्य कुनै पनि बिदा कर्मचारीलाई दिइनेछैन।

उडिसामा ७ जनवरीदेखि १ फेब्रुअरीसम्म १२ कक्षासम्मका सबै शैक्षिक संस्था बन्द रहनेछन्। १० र १२ कक्षाको अनलाइन कक्षा भने जारी रहनेछ। उडिसा सरकारले नयाँ निर्देशिका जारी गरेको छ।

भारतमा ओमिक्रोनका ३ सय ७८ नयाँ संक्रमित फेला परेका छन् भने कूल संक्रमितको संख्या २ हजार ६ सय ८५ पुगेको छ।

कोरोनाको तेस्रो लहरबाट सबैभन्दा बढी प्रभावितमा महाराष्ट्र,पश्चिम बंगाल, दिल्ली, केरल र तमिलनाडु गरी ५ राज्य छन्। महाराष्ट्रमा २६ हजार ५ सय ३८, पश्चिम बंगालमा १४ हजार २२, दिल्लीमा १० हजार ६ सय ६५, केरलमा ४ हजार ८ सय १ र तमिलनाडुमा ४ हजार ८ सय ६२ संक्रमित थपिएका छन्।

यी बाहेक राजस्थान, मध्यप्रदेश, उत्तर प्रदेश, पञ्जाब, हरियाणा, गुजरात, छत्तिसगढ र गुजरातमा कोरोना तीव्र गतिमा फैलिइरहेको छ।



Leave a Reply

Your email address will not be published.