भारतबाट फर्किएकाहरुमा देखिन थाल्यो कोरोना संक्रमण, बढ्यो जोखिम

हेल्थपोस्ट नेपाल

काठमाडौं – कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। भारतमा कोरोना संक्रमण बढ्न थालेपछि नेपाल फर्कनेको संख्या बढेपछि कञ्चनपुरमा पनि सो संख्यामा वृद्धि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्या ४१ पुगेको छ। मंगलबारमात्रै १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भीमदत्त नगरपालिकामा-६, कृष्णपुर नगरपालिकामा एक तथा पश्चिमी सीमानाका हुँदै भारतबाट नेपाल प्रवेश गरेका आठजनामा संक्रमण देखिएको छ। एन्टिजेन विधिबाट गरिएको परीक्षणमा नौजनाको नतिजा पोजेटिभ आएको छ भने पिसिआर विधिबाट गरिएको परीक्षणमा ६ जनाको नतिजा पोजेटिभ आएको छ।

कोरोना परीक्षणको नतिजा पोजेटिभ आएकामध्ये एकजना महाकाली अस्पतालको आइसोलेसनमा छन्। बाँकी सबै होम आइसोलेसनमा छन्। यसैगरी सीमानाका त्रिनगर हुँदै नेपाल भित्रिएकाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकामा १६ जनाको नतिजा पोजेटिभ आएको छ। हालसम्म कञ्चनपुरमा ९ हजार ८५ जनामा कोरोना पोजेटिभ पाइएको छ। हालसम्म ८ हजार ८२३ जना निको भएका छन्।

हालसम्म २०५ जनाको कोरोनाबाट मृत्यु भएको छ। मंगलबारमात्रै सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका यात्रुको संख्या ४८२ रहेको छ। भित्रिनेमा पुरुष २९९, महिला १०० र बालबालिका ३२ छन्। नेपालबाट भारततर्फ जानेको संख्या ४३५ रहेको छ। सोही अवधिमा सीमानाका त्रिनगर हुँदै नेपाल फर्किएका यात्रुको संख्या ३०९ तथा भारततर्फ जानेको संख्या २५९ छ।



Leave a Reply

Your email address will not be published.