भारतमा एकदिनको अन्तरालमा २० हजार बढी कोरोना संक्रमित थपिए, ओमिक्रोन पनि बढ्दै

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतमा कोरोना संक्रमणको तेस्रो लहर आउन थालेको छ। एकै दिनमा कोरोना संक्रमितको संख्यामा ठूलो उछाल आएको छ। पछिल्लो २४ घण्टामा ५८ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन्। यसअघि मंगलबार ३७ हजार ३७९ नयाँ कोरोना संक्रमित थपिएका थिए।

स्वास्थ्य मन्त्रालयले आज बिहान दिएको जानकारी अनुसार गत २४ घण्टामा देशमा ५८ हजार ९७ नयाँ कोरोना संक्रमित थपिएका छन्। यस अवधिमा १५ हजार ३८९ संक्रमणमुक्त भएका छन्। थप ५३४ संक्रमितको मृत्यु भएको छ।

भारतमा सक्रिय संक्रमितको संख्या २ लाख १४ हजार ४ पुगेको छ। दैनिक संक्रमण दर पनि ४.१८ प्रतिशत पुगेको छ। मन्त्रालयका अनुसार हालसम्म ३ करोड ४३ लाख २१ हजार ८०३ जना कोरोनाबाट निको भइसकेका छन् भने ४ लाख ८२ हजार ५५१ संक्रमितले ज्यान गुमाएका छन्।

कोरोनाका कारण मृत्यु हुनेको संख्यामा ठूलो वृद्धि भएको छ। सोमबारको तुलनामा मंगलबार मृत्यु हुनेको संख्या दोब्बर भएको छ। सोमबार कोरोनाका कारण २४७ संक्रमितको मृत्यु भएको थियो भने मंगलबार यो संख्या बढेर ५३४ पुगेको छ।

ओमिक्रोन संक्रमितको संख्या २१ सय नाघ्यो

कोरोना संक्रमणसँगै भारतमा नयाँ भेरियन्ट ओमिक्रोनले पनि चिन्ता बढाएको छ। ओमिक्रोन संक्रमितको कुल संख्या बढेर २ हजार १३५ पुगेको छ। महाराष्ट्र र दिल्लीमा ओमिक्रोनको सबैभन्दा बढी ६५३ र ४६४ केसहरू छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ओमिक्रोनका २ हजार १३५ बिरामीमध्ये ८२८ जना निको भइसकेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *