उच्च संक्रामक ओमिक्रोनले खतरनाक नयाँ भेरियन्ट बनाउनसक्छ : डब्ल्यूएचओ

हेल्थपोस्ट नेपाल

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ओमिक्रोन नयाँ खतरा बन्नसक्ने चेतावनी दिएको छ। संगठनको युरोप इकाईले मंगलबार चेतावनी दिँदै भनेको छ कि, ‘विश्वभर ओमिक्रोनको बढ्दो केसहरूले नयाँ र थप खतरनाक जोखिमहरू खडा गर्न सक्छ।’

ओमिक्रोन जति धेरै फैलिन्छ, त्यति नै यसको रूप परिवर्तन हुने दाबी डब्ल्यूएचओले गरेको छ। डब्ल्यूएचओकी वरिष्ठ आपतकालीन अधिकारी क्याथरिन स्मलवुडले ओमिक्रोनको बढ्दो संक्रमण दरले उल्टो प्रभाव पार्न सक्ने बताएकी छन्। उनले अहिले यो घातक बनेको छ र ज्यानसमेत लिन थालेको बताएकी हुन्। ओमिक्रोनको संख्या बढ्दा नयाँ खतरनाक भेरियन्ट उत्पत्ति हुने जोखिमसमेत बढेको उनले उल्लेख गरेकी छन्।

उनले भनिन्, ‘यो जति फैलिन्छ, त्यति नै यसले अर्को रुप बनाउनेछ। यो बीचमा नयाँ भेरियन्टहरू आउनसक्ने डर पनि छ। अहिले यसले घातक रूप लिएको छ। यसले मृत्यु निम्त्याउन सक्छ, जुन डेल्टाभन्दा कम वा बढी पनि हुनसक्छन्।’

ओमिक्रोन संक्रमण भएका व्यक्तिहरूमा डेल्टाको तुलनामा अस्पताल भर्ना हुने जोखिम कम भए पनि यसको उच्च संक्रमण दर खतरनाक हुन सक्ने उनले बताइन्। ‘जब यसका बिरामीहरू द्रुत रूपमा बढ्छन्, तिनीहरूले धेरै मानिसहरूलाई गम्भीर रोगबाट संक्रमित गर्न सक्छन् र तिनीहरू अस्पताल जानुपर्ने हुनसक्छ। जसले मृत्युको सम्भावनालाई बढाउँछ।’, उनले भनिन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *