कोरोना संक्रमण बढ्दै गएपछि प्रतिबन्धात्मक व्यवस्था लागू गर्दै भारतका राज्य सरकार

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या बढ्दो क्रममा छ। मंगलवार भारतमा ३७ हजारभन्दा बढी संक्रमित थपिएका छन् जुन एक सातामा पाँच गुणा वृद्धि रहेको विज्ञहरूले बताएका छन्।

धेरैमा ओमिक्रोन भेरिअन्ट पुष्टि भएको बताइएको छ। खोपसम्बन्धी एउटा कार्यदलका प्रमुख डा. एनके अरोराले भारतमा कोभिड महामारीको तेस्रो लहर सुरु भइसकेको बताएका छन्।

कोभिड संक्रमण फैलने क्रम बढ्दै गएसँगै राज्य सरकारहरूले पुनः प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गर्दै छन्। मंगलबार भारतको राजधानी दिल्लीका अधिकारीहरूले सप्ताहान्तमा कर्फ्यू लगाउने निर्णय गरेका छन्।

भारतको राजधानी नयाँ दिल्ली र अर्को ठूलो सहर मुम्बईमा संक्रमणको संख्या बढीरहेको छ। भारतको कुल संक्रमितमध्ये झन्डै एक तिहाइ दिल्ली र मुम्बईमा छन्।

सबै गैरअत्यावश्यकीय गतिविधिमा शुक्रबार रातिदेखि सोमबार बिहानसम्म प्रतिबन्ध लगाइने छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल कोभिडबाट संक्रमित भएको केही घण्टापछि सप्ताहान्तमा कर्फ्यू लगाउने निर्णय सार्वजनिक गरिएको थियो। गैरसरकारी कार्यालयहरूलाई आधा क्षमतामा काम गर्न निर्देशन दिइएको छ भने सरकारी कर्मचारीहरुलाई घरबाटै काम गर्न भनिएको छ।

पन्जाब सरकारले रात्रिकालीन कर्फ्यू जारी गरेको छ र सबै विद्यालय तथा कलेजहरू बन्द गरिएका छन्। राजनीतिक भेला गर्न भने रोक लगाइएको छैन।



Leave a Reply

Your email address will not be published. Required fields are marked *