फाइजर खोपका लागि ६ लाख ६६ हजार सिरिन्ज नेपाल आइपुग्यो

काठमाडौं – कोरोना भाइरस खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल आइपुगेको छ। अमेरिकाबाट ६ लाख ६६ हजार खोपका लागि प्रयोग गरिने सिरिन्ज नेपाल ल्याइएको हो।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार फाइजर खोपका लागि प्रयोग हुने सिरिन्ज नेपाल ल्याइएको हो। सिरिन्ज अभावका कारणले यही पुस १३ गतेदेखि काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतसहित आठ जिल्लामा बालबालिकालाई लगाइने फाइजर खोप अभियान रोकिएको थियो। ती जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप लगाउने तयारी थियो।
बालबालिकाका लागि लगाउने ६ लाख ६४ हजार ५६० मात्रा फाइजर खोप आइसकेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सिरिन्ज आइसकेकाले स्थगित गरिएको फाइजर खोप चाँडै सञ्चालन गरिने बताए।