अमेरिकामा कोरोना ‘सुनामी’: एकै दिन १० लाख संक्रमित थपिए

हेल्थपोस्ट नेपाल

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले डेल्टा र ओमिक्रोन भाइरसका कारण कोरोनाको सुनामी आउने चेतावनी दिएको केही दिन नबित्दै अमेरिकामा त्यसको पुष्टि भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयलको सोमबारको तथ्यांकअनुसार एकै दिन १० लाख ४२ हजार संक्रमित थपिएका छन्।

‘युएसएटुडे’ का अनुसार शनिबार र आइतबारका संक्रमित जोडेर १० लाखभन्दा बढी संक्रमित संख्या देखिएको हो । २० प्रतिशत राज्यमा शनिबार देखिएका संक्रमित र एक तिहाईमा आइतबार पुष्टि भएका संक्रमित गरी १० लाखभन्दा बढी संक्रमित भएका हुन्।

यसअघि गत बिहीबार एकै दिन ५ लाख ९१ हजार जनामा संक्रमण पुष्टि भएको थियो।

गत साता १ सय अमेरिकीमध्ये एक जनालाई पोजेटिभ देखिएको थियो।

राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले मंगलबार ह्वाइट हाउसको कोरोना भाइरस रेस्पोन्स टिमलाई भेट्दैछन्। उनीहरुले ओमिक्रोन भाइरस संक्रमण तीव्र भएको विषयमा छलफल गर्ने बताइएको छ।

अमेरिकामा हाल १ लाख ३ हजार मानिसहरु कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका छन्। गत वर्षको जनवरीमा यो संख्या १ लाख ४२ हजार थियो। यसअघि गत नोभेम्बरमा अस्पताल भर्ना हुनेको संख्या ४५ हजार रहेकोमा एक महिनामा यतिधेरै संख्यामा संक्रमण बढेको हो।

अमेरिकी राज्यहरुमा अस्पताल भर्ना हुने बालबालिकाको संख्यामा पनि वृद्धि भइरहेको छ। इलिनोइसमा बालबालिका अस्पताल भर्ना हुने दर डिसेम्बरमा तेब्बर भएको छ।

अमेरिकी सिडीसीका अनुसार अस्पताल भर्ना हुनेहरुमा अधिकांश खोप नलगाएकाहरु छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *