बिरामीको घरघरमै पुगेर स्वास्थ्यसेवा प्रदान गर्दै ग्राण्डी अस्पताल

हेल्थपोस्ट नेपाल

काठमाडौं – काठमाडौंको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले लामो समय अस्पतालमा उपचार गरी घर गएका बिरामीको घरघरमै पुगेर स्वास्थ्यसेवा प्रदान गर्ने भएको छ।

अस्पतालको नवौं वार्षिकोत्सवका अवसरमा सोमबार साँझ आयोजित कार्यक्रममा अस्पतालबाट घर गएका बिरामीको घरघरमै पुगेर स्वास्थ्य उपचार गराउन ‘ग्राण्डी एट होम’ सेवाको शुभारम्भ गरिएको हो। ग्राण्डीमा उपचार गराएर घर फर्किएका बिरामीको फलोअपका लागि बारम्बार अस्पताल आउन झण्झट हुने भएकाले घरमै पुगेर स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले ‘ग्राण्डी एट होम’ सेवाको सुरुआत गरिएको अस्पतालका मेडिकल निर्देशक डा. विनोद बिजुक्छेले जानकारी दिए।

‘बिरामीको टाँका काट्ने, डाक्टर कन्सल्टेसन, घाउको ड्रेसिङ, औषधिसम्बन्धी सरसल्लाह, रगत एवं दिसापिसाब पुनः चेकजाँच, पिसिआर चेकजाँच आदी ‘ग्राण्डी एट होम’ सेवामार्फत गछौं’, उनले भने। हाल उक्त सेवा काठमाडौंको चक्रपथ वरपरका क्षेत्र, ललितपुर महानगरपालिका क्षेत्र र भक्तपुरको ठिमी वरपरका क्षेत्रमा लागू गर्ने अस्पतालले जनाएको छ।

कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले सबैको साथ, सहयोग र समर्थनका कारण ग्राण्डी अस्पतालले नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फड्को मारेको बताए। उनले भने, ‘नाफा कमाउनभन्दा सेवा प्रदान गर्ने उद्देश्यका साथ हामीले अस्पताल सञ्चालनमा ल्याएका हौं, सामूहिकरूपमा काम गरेमा हामी सफल हुन्छौं, ग्राण्डीलाई सफल बनाउने जिम्मा अस्पतालका डाक्टर, नर्स र कर्मचारीको हो।’

अस्पताल सञ्चालक समितिका सदस्य इञ्जिनीयर विजय राजभण्डारीले मुलुकमा राम्रो स्वास्थ्य सेवा केन्द्र नभएको अवस्थामा विदेश तथा नेपालमा पढेका डाक्टरलाई यहीँ रोजगारी दिऔँ र उपचारका लागि कोही पनि नेपाली विदेशीन नपरोस् भन्ने उद्देश्यले ग्राण्डी अस्पताल स्थापना गरेको बताए।

अस्पताल सञ्चालक समितिका सदस्य वीरेन्द्रबहादुर श्रेष्ठ, सुवर्णकृष्ण मल्ल, साधुराम पाण्डे, डा. सविना श्रेष्ठ बिजुक्छे, अस्पतालका सल्लाहकार राजन शर्मालगायतले उच्च गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालले कन्जुस्याइँ गर्न नहुनेमा जोड दिए। बिरामीको खुसी नै अस्पतालको खुसी भएकाले बिरामीलाई खुसी बनाउने गरी स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा उनले जोड दिए।

निजी क्षेत्रको लगानीमा विसं २०६९ पुस १९ मा स्थापना भएको उक्त अस्पतालले विभिन्न ३० भन्दा बढी विधामा बिरामीको उपचार गराउँदै आएको छ। अस्पतालका नर्सिङ प्रमुख लालदेवी (एलडी) महर्जनले ग्राण्डी अस्पतालले नर्सलाई विशिष्टीकृत तालिम प्रदान गरेर काममा लगाउँदै आएको उल्लेख गरिन्।

‘केयर टु क्योर’ भन्ने मूल नाराका साथ सन् २०१२ जनवरी ३ मा स्थापना भएको ग्राण्डीले हाल १ हजार व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्क्षय रूपमा रोजगारी प्रदान गर्दै आएको छ। २८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालले २०९ शय्यामार्फत बिरामीको उपचार गर्दै आएको छ।

अस्पतालको नवौं वार्षिकोत्सवका अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई समेत सम्मान गरिएको थियो। सोही अवसरमा ग्राण्डी अस्पतालबाट प्रकाशन हुँदै आएको ‘ग्राण्डी जर्नल’को समेत विमोचन गरिएको थियो।



Leave a Reply

Your email address will not be published.