हुम्लीका दु:ख : साढे सात लाख हेलिकप्टर भाडा तिरेर बिरामीको उद्धार

हेल्थपोस्ट नेपाल

हुम्ला – केही दिन अगाडिदेखि नाक र कानसम्बन्धी समस्याले थला परेका दुई बिरामीको सोमबार हेलिकप्टरमार्फत उद्धार गरिएको छ। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङको उद्धार गरिएको हो।

उत्तरी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै गाउँमा उपचार सम्भव नभएपछि उनीहरूले आफ्नै खर्चमा काठमाडौंबाट हेलिकप्टर मगाएर थप उपचारका लागि जिल्लाबाहिर लगिएको आफन्त रेछिङबहादुर लामाले बताए। उनले भने, ‘आफ्नै निजी खर्चमा बिरामीको उद्धार गरेका हौं, रु ७ लाख ५० हजार महङ्गो हवाई भाडा तिरेर उपचारका लागि काठमाडौं लगिएको छ। गाउँघरमा उपचार सम्भव नहुने भएपछि थप उपचारका लागि काठमाडौं लगिएको हो।’

काठमाडौंबाट नाइनएन–एजेआरको समिट एरलाइन्सको फिस्टेल हेलिकोप्टरबाट उनीहरूलाई उद्धार गरिएको हो। ५० वर्षीय तामाङको नाकबाट निरन्तर रगत बगिरहनुका साथै गाउँमा उपचार हुन नसकेपछि हेलिकप्टर मगाइएको हो। आइतबार राति नाकबाट रगत बग्न नरोकिएपछि थप उपचारका लागि हेलकप्टर मगाएर जिल्लाबाहिर लगिएको हो। २५ वर्षीय लामालाई कानमा समस्या भएपछि थप उपचारका लागि काठमाडौं लगिएको हो। बिरामीसँगै अन्य दुई बिरामी कुरुवासमेत गएका छन्।

उत्तरी हुम्लाका नागरिक बिरामी हुँदा आफ्नै खर्चमा महङ्गो हवाई भाडा तिरेर बिरामीको उद्धार गर्दै आएका छन्। हिउँदयाममा यस क्षेत्रमा अत्यधिक चिसो हुनुका साथै स्वास्थ्यकर्मी कार्यालयमा नियमित नहुँदा सिधै काठमाडौंबाट हेलिकप्टर मगाएर महङ्गो खर्चमा बिरामीले उपचार गर्नुपर्ने बाध्यता छ। यातायात सुविधा नहुँदा हुम्लीले बिरामी हुँदा हेलिकप्टर र हवाईजहाजको भर पर्नुपर्ने अवस्था छ। बिरामी आफैंले हेलिकप्टर रिजर्भ गर्दा रु ७ देखि १० लाखसम्म भाडा तिरेर उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *