दिल्लीमा बढ्दै ओमिक्रोन संक्रमण : जीनोम सिक्वेन्सिङ रिपोर्टमा ८४ प्रतिशत पोजेटिभ नतिजा

हेल्थपोस्ट नेपाल

काठमाडौं – दिल्लीमा कोरोना संक्रमणको संख्या तीव्र गतिमा बढिरहेको छ। ओमिक्रोनका केसहरु पनि सँगै बढिरहेका छन्। पछिल्लो २४ घण्टामा दिल्लीमा करिब ४ हजार कोरोना संक्रमित भेटिएका छन्। जिनोम सिक्वेन्सिङका लागि पठाइएका केसमध्ये ८४ प्रतिशत पोजेटिभ आउने गरेका छन्।

दिल्लीका स्वास्थ्यमन्त्री सतेन्द्र जैनले आइतबार दिल्लीमा ३ हजार १९४ जनामा कोरोना संक्रमित पुष्टि भएको बताए। सोही समयमा पोजेटिभ दर ४.५९ प्रतिशत थियो। सोमबार ४ हजार संक्रमित भेटिएका छन् भने पोजेटिभ हुने दर पनि ६.५ प्रतिशत पुगेको छ।

जैनले भने, ‘पछिल्लो दुई दिनमा दिल्लीको तीन ल्याब आईएलबीएस, एलएनजेपी र एनसीडीसीबाट आएको जीनोम सिक्वेन्सिङ रिपोर्टमा ८४ प्रतिशत ओमिक्रोन संक्रमणका आएका छन्।’ विज्ञहरूका अनुसार एक हप्तामा यो संख्या उच्च बिन्दुमा आउनसक्छ।

जैनले भने, ‘जनता सचेत भए, प्रोटोकल पालना गरे कडाइ निर्देशन लागू गर्नुपर्ने आवश्यकता हुँदैन। अहिलेसम्म अक्सिजन वा भेन्टिलेटरमा ओमिक्रोनका बिरामी छैनन्। आएका सबै केसहरूमा अस्पतालको आवश्यकता एकदमै कम छ। पछिल्लो पटक यति धेरै मानिसहरू बिरामी हुँदा ठूलो संख्यामा मानिसहरू अस्पतालमा भर्ना भएका थिए। हाल दिल्लीका २०२ जना मात्रै कोरोना अस्पतालमा भर्ना छन्।’

जैनले अहिलेसम्म अवस्था निकै नियन्त्रणमा रहेको बताए। उनले संख्या बढ्दै गए पनि तुलनात्मक रूपमा मानिसहरू गम्भीर बिरामी नपरिरहेका बताए।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *