११ देखि १८ वर्ष उमेर समूहका २५ हजार विद्यार्थीलाई कोरोनाविरुद्धको खोप

हेल्थपोस्ट नेपाल

डोटी – डोटी जिल्लामा ११ वर्षदेखि १८ वर्ष उमेर समूहका २५ हजार स्कुले विद्यार्थीलाई विद्यालयमै कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ। जिल्लाका नौवटै स्थानीय तहका ११ वर्ष माथिदेखि १८ वर्ष मुनिका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लाका नौवटै स्थानीय तहमा रहेका विद्यालयमा अध्यनरत ३३ हजार किशोरकिशोरीमध्ये पहिलो चरणमा २५ हजारलाई खोप लगाउन सुरु गरिएको कार्यालयको भनाइ छ। जिल्लामा ३३ हजार विद्यार्थीको तथ्यांक प्राप्त भए पनि २५ हजार डोज मात्रै खोप उपलब्ध भएका कारण पहिलो चरणमा पुग्ने जतिलाई खोप लगाउन थालिएको र बाँकीलाई दोस्रो चरणमा लगाइने कार्यालयका स्रोत व्यक्ति डिल्लीरमण जोशीले जानकारी दिए।

उनका अनुसार हालसम्म कम्तीमा पनि १० हजार जनालाई खोप लगाइएको छ। यो खोप फ्रिजबाट निकालेको एक महिनाभित्र लगाइसक्नुपर्ने भएकाले चाँडै लगाउन थालिएको जोशीले बताए। डोटीमा ९५ प्रतिशत खोप विद्यालयमै दिइने र केही खोप अस्पताल तथा स्वास्थ्य चौकीबाट उपलब्ध गराइने भएको छ।

विद्यार्थी पनि खुसीकासाथ कोरोनाविरुद्धको खोप लगाउन थालेका कार्यालयका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिए। उनले भने, ‘हामीले विद्यालयमै कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छौं, विद्यार्थी पनि खुसीकासाथ खोप लगाउन थालेका छन्।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *