हुम्ला जिल्ला अस्पतालमा टुकी बालेर स्वास्थ्य सेवा दिनुपर्ने अवस्था अन्त्य

हेल्थपोस्ट नेपाल

हुम्ला – हुम्ला जिल्ला अस्पतालमा ५० किलोवाटको ‘जेनेटर’ सञ्चालनमा आएको छ। जिल्लामा विद्युत नियमित नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका थिए। जेनेटर सञ्चालनपछि स्वास्थ्यकर्मीलाई सेवा प्रदान गर्न सहज भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए। उनले भने, ‘विद्युत आपूर्ति नियमित नहुँदा उपचारमा बाधा पुगिरहेको थियो, जेनेरेटर जडान गरी सञ्चालनमा आएसँगै अस्पतालबाट चौबीसै घण्टा सेवा प्रवाह गर्न सहज भएको छ।’ उनका अनुसार कर्णाली प्रदेश सरकारको विशेष सहयोगअन्तर्गत ६२.५ केभिए क्षमताको जेनेटर जडान गरिएको हो।

यसअघि विद्युतको अनियमितताले सुत्केरी गराउन तथा शल्यक्रिया गर्न समस्या हुनुका साथै भिडियो एक्सरे तथा सिटिस्क्यान गर्नसमेत बाधा पुगिरहेको थियो। अस्पतालले अत्यावश्यक कामका लागि जेनेरेटर चौबीसै घण्टा सञ्चालन गर्ने जनाएको छ। हिल्दुम साना जलविद्युत आयोजनाबाट नियमित विद्युत आपूर्ति नहुँदा यसअघि बत्ती हेरेर स्वास्थ्योपचार गर्नुपर्ने बाध्यता थियो।

अस्पतालका लागि उक्त जेनेरेटरको लागि बजेट व्यवस्थापन गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सामाजिक विकास मन्त्रालयलाई विशेष निर्देशन दिएका थिए। मुख्यमन्त्री नियुक्त भएपछि जिल्ला अस्पताल हुम्लामा पुग्दा उनीसमक्ष अस्पतालले विद्युतको समस्याले सेवा प्रवाहमा समस्या रहेकाले त्यसको विकल्प दिन कार्यालयले माग गरेको थियो। उक्त अवसरमा मुख्यमन्त्री शाहीले अस्पतालको माग पूरा गरिदिने वचन दिएका थिए। खरिददेखि ढुवानी जडानसम्म गरी झण्डै रु २४ लाखमा जेनेरेटर सञ्चालनमा आएको जनाइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *