मस्तिष्कघात र डिमेन्सियाको जोखिम कम गराउँछ चिया र कफीले

हेल्थपोस्ट नेपाल

चिया वा कफी सेवन नगर्ने मानिस सायदै भेटिएलान्। कसैलाई भने यसको लत नै बसेको हुन्छ। चिया वा कफी नपिइकन जाँगर नै चल्दैन भन्ने पनि धेरै हुन्छन्। दिनमा कति मात्रामा चिया–कफी पिउँदा फाइदा हुन्छ, कति पिउँदा बेफाइदा हुन्छ भन्नेबारेमा सबैलाई जानकारी नहुन सक्छ।

लामो समयदेखि कफी र चिया सेवनबाट हुने फाइदा/बेफाइदाबारे विभिन्न अध्ययन हुँदै आएका छन्। चीनका अनुसन्धानकर्ताले पनि हालसालै यस्तै खाले एक अनुसन्धान गरेका छन्। चीनको तियानजिन मेडिकल युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको अध्ययनले कफी र चिया पिउँदा मस्तिष्कघात र डिमेन्सियाको जोखिम कम हुने देखाएको छ।

अनुसन्धानकर्ताले १० देखि १४ वर्ष लगाएर उक्त अध्ययन गरेका हुन्। अध्ययनमा ३ लाख ६० हजार मानिसलाई सहभागी गराइएको थियो। अध्ययनअनुसार दैनिक चिया वा कफी सेवन गर्दा मस्तिष्कघात र डिमेन्सिया (स्मरण शक्ति र तार्किक क्षमता कम हुने रोग) जोखिम कम हुन्छ।

दिनमा कम्तिमा २ देखि ३ कप कफी, ३ देखि ५ कप चिया वा चिया र कफी दुवै गरी ४ देखि ६ कप पिउने मानिसमा मस्तिष्कघात र डिमेन्सियाको जोखिम कम हुने अनुसन्धानले देखाएको छ। अध्ययनमा संलग्न अनुसन्धानकर्ताका अनुसार ‘ठिक्क मात्रामा कफी र चिया दुवै वा कुनै एक मात्रै सेवन गर्दा मस्तिष्कघात र डिमेन्सियाको जोखिम कम हुन्छ। चिया वा कफी मात्रै पिउँदा दुवै जोखिम कम हुन्छन्।

तर दैनिक २ देखि ३ कप कफी वा चिया सेवन गर्दा सबैभन्दा प्रभावकारी हुने’ अध्ययनको ठहर छ। दैनिक ३ कप कफी वा चिया पिउने मानिसमा डिमेन्सियाको जोखिम नपिउने मानिसमा भन्दा २८ प्रतिशत कम र मस्तिष्कघातको जोखिम ३२ प्रतिशतले कम अनुसन्धानले देखाएको छ।

सन् २००६ देखि २०२० सम्मको अवधिमा बेलायतको ‘यूके बायोबैंक’ नामक संस्थाद्वारा संकलित झण्डै ५ लाखले आफूखुसी दिएको विवरणका आधारमा उक्त अध्ययन गरिएको थियो। यस क्रममा कफी वा चिया सेवनबारे बताएका ५० देखि ७४ वर्षका मानिसको स्वास्थ्य अवस्था हेरिएको थियो। यसअघि गरिएका अनुसन्धानले समेत मस्तिष्कको स्वास्थ्यका लागि कफी फाइदाजनक हुने देखाएका थिए। यसै वर्ष यूके बायोबैंकको तथ्याङ्कका आधारमा गरिएको एक अध्ययनले दैनिक बढीमा ३ कप कफी पिउँदा मुटुसम्बन्धी रोग, मस्तिष्कघात र असामयिक मृत्युको जोखिम कम हुनेसमेत देखाउँछ । त्यस्तै, दैनिक ३ कप कफी सेवन गर्दा अल्जाइमरको जोखिम कम हुन्छ।

अत्यधिक कफी वा चिया सेवनका बेफाइदा
तर अत्यधिक कफी सेवन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन। जुन महिनामा न्युट्रिसनल न्युरोसाइन्समा प्रकाशित एक अध्ययनअनुसार दैनिक ६ कपभन्दा बढी कफी पिउने मानिसमा डिमेन्सियाको जोखिम बढ्छ र मस्तिष्कमा पनि हानि पुग्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *