दमौली कारागारमा दुई वर्षदेखि स्वास्थ्यकर्मी छैनन्, कैदीबन्दीलाई समस्या

हेल्थपोस्ट नेपाल

तनहुँ – दमौली कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीले समस्या भोगिरहेका छन्। यहाँका हेल्थ असिस्टेन्ट सक्षम घिमिरे विसं २०७६ असोज २३ गते सरुवा भएर गएदेखि अर्को स्वास्थ्यकर्मीको पदपूर्ति हुन सकेको छैन। स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या हुने गरेको छ।

कर्मचारी समायोजनपश्चात घिमिरे जिल्लाको म्याग्दे गाउँपालिकामा सरुवा भएर गएपछि कारागार स्वास्थ्यकर्मीविहीन बन्न पुगेको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले बताए। सामान्य रोगको उपचारका लागि पनि बाह्य अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

उनले कैदीबन्दी अस्वस्थ हुँदा बाहिर गएर स्वास्थ्य परीक्षण गराउन गाह्रो मान्ने गरेको बताए। कैदीबन्दीको स्वास्थ्यपरीक्षण गराउन लैजाँदा हत्कडी लगाएर हिँडाएर लैजानुपर्ने अवस्था रहेकाले चिनेजानेका, आफन्तजन, साथीभाइ भेट हुने हुँदा अप्ठ्यारो मान्ने गरेको उनले जानकारी दिए।

‘गाडीमा लैजाउँ भने सुविधा छैन, हिँडाएरै लैजानुपर्छ’, उनले भने, ‘कारागारमै स्वास्थ्यकर्मी हुँदा कैदीबन्दीलाई पनि सहज र कारागार व्यवस्थापनलाई पनि सहज हुन्थ्यो।’ जटिल प्रकृतिका बाहेक अन्य बिरामीको स्वास्थ्यकर्मीले कारागारमा स्वास्थ्यपरीक्षण गरी औषधि दिने व्यवस्था रहेपनि अहिले स-साना रोगका लागि पनि बाहिर लैजानुपर्ने अवस्था रहेको उनको भनाइ छ।

सो कारागारमा हाल १८ सुरक्षाकर्मी राखिएको बताइएको छ। दमौली कारागारमा हाल कैदी १४४ र थुनुवा ११४ गरी २५८ जना रहेको कारागार प्रशासनले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *