६ हजार बालबालिकालाई कोरोनाविरुद्धको मोडेर्ना खोप

हेल्थपोस्ट नेपाल

रुकुम(पूर्व) – रुकुम(पूर्व) मा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडेर्ना खोप लगाएका छन्। जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमूनिका ६ हजार २१६ बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडेर्ना खोप लगाएका हुन्।

जिल्लाका विभिन्न विद्यालयमा सञ्चालन गरिएको अभियान र स्वास्थ्य कार्यालयबाट बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय रुकुम (पूर्व) का कोरोना रोग नियन्त्रण फोकल पर्सन नीमप्रसाद गिरीले जानकारी दिए।

सोमा सिस्ने गाउँपालिकाका २ हजार ४५०, भूमे गाउँपालिकाका २ हजार ५४ बालबालिकाले मेडेर्ना खोपको पहिलो मात्रा लगाएका हुन्। पुथाउत्तरगङ्गा गाउँपालिकाका १ हजार ७१२ बालबालिकाले मोडेर्नाको खोप लगाएको फोकल पर्सन गिरीले बताए। उनका अनुसार जिल्लामा यही पुस ६ देखि १० गतेसम्म सिस्ने र भूमे गाउँपालिकाका विद्यालयमा खोप अभियान चलाइएको थियो भने १० गतेदेखि १४ गतेसम्म पुथाउत्तरगङ्गा गाउँपालिकाको विद्यालयमा खोप अभियान चलाइएको थियो।

स्वास्थ्य कार्यालयबाट अहिले पनि मोडेर्ना खोप लगाउने कार्यक्रम चलिरहेको छ। खोप कार्यक्रम सुरु गर्नुभन्दा अघि जिल्लामा १२ वर्षभन्दा माथिका र १८ वर्षभन्दा कम उमेर समूहका बालबालिका करिब साढे ६ हजारको हाराहारीमा रहेको आंकलन गरिएको भए पनि अहिले यो उमेर समूहका बालबालिका धेरै भएको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।

अहिलेसम्म खोप लगाएका बालबालिकाको संख्या ६ हजार बढी भइसकेको र अझै धेरै बालबालिका खोप लगाउन बाँकी रहेको गिरीले बताए। स्वास्थ्य कार्यालयमा पुस २० गतेसम्म मोडेर्ना खोप लगाउने कार्यक्रम चल्ने बताइएको छ।



Leave a Reply

Your email address will not be published.