चितवनमा स्वास्थ्यसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम

हेल्थपोस्ट नेपाल

चितवन – चितवनमा आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम भएको छ। अभिमुखीकरण कार्यक्रमको शुभारम्भ भरतपुर महानगरकी उपप्रमुख पार्वती शाहले गरेकी थिइन्।

उपमेयर शाहले कार्यक्रमका लागि भरतपुर छनोट गरेकोमा आयोजकलाई धन्यवाद दिइन्।

आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य प्रमुख डा. प्रकाश बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्देश्यका बारेमा डा. श्रीकान्त अग्रवालले प्रष्ट्याएका थिए।

भरतपुर अस्पतालका प्रमुख प्रा. डा. कृष्ण पौडेलले सरकारका प्राय: कार्यक्रम आमा र बच्चामा सीमित रहेका र यस्ता रोग जटिला तथा आर्थिक हानी बढी हुने विशेषज्ञ सेवा रहेकाले हरेक स्वास्थ्य संस्थामा पुर्याउन आवश्यक रहेको बताए।

निर्देशकहरुको तर्फबाट सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले तीन तहकै तथा सबै प्रदेशलाई संघीयता लागू भएपछि भेटाउने र एकअर्काका योजना तथा कार्यक्रमका बारेमा छलफल गर्ने मौका जुटाइदिएको धन्यवाद दिँदै नियमित गर्न र संघीयताले खस्काएको स्वास्थ्य सूचक सुधार्न डा. बुढाथोकीजस्ता युवाले नेतृत्व लिन आग्रह गरे।

समापन कार्यक्रमका अतिथि उपचारात्मक सेवा महाशखाका निर्देशक पवनजंग रायमाझीले ओझेलमा परेको क्षेत्रलाई सम्बोधन गर्दै शाखा स्थापना भएको र सबै मिलेर यसको विकास र विस्तार गर्नुपर्नेमा जोड दिनुपर्ने बताए।

सहभागीकातर्फबाट लुम्बिनी प्रदेशको दाङ जिल्ला स्वास्थ्य प्रमुख अंगद शाहीले निरन्तर केन्द्रबाट फोन वा पत्रबाट सम्झाइरहनपर्ने र यस्ता कार्यक्रमहरु बाख्लो गराउन अनुरोधका साथ मन्तब्य राखेका थिए।

कार्यक्रमका अध्यक्ष डा. बुढाथोकीले विगत दुई वर्षदेखि स्थानीय र प्रदेश सरकारलाई सशर्त बजेटका रुपमा कार्यक्रम राखिएकाले त्यो कार्यान्वयन गर्न तथा आफूले पनि बजेटमा पार्न अनुरोध गर्ने बताएका थिए। आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा समाहित भइसकेका विशेषज्ञ सेवाहरु सरकारको तल्लो स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीसम्म पुर्याउन चुनौती भए पनि स्वास्थ्यका सिपाहीहरु हरसम्भव लाागिपरेका बताए।

डा. बुढाथोकीका अनुसार अभिमुखीकरण कार्यक्रममा आँखा स्वास्थ्यतर्फ प्रा. डा. सविना श्रेष्ठ र डा. सुमित पाण्डे, ईएनटितर्फ डा.रमेश भण्डारी र डा. बिजय खरेल र मुख स्वास्थ्यतर्फको प्रशिक्षण स्वयं डा. प्रकाश बुढाथोकी, डा. अजय न्यौपाने र डा. प्रकाश पाण्डेले सहजीकरण गरेका थिए।

अभिमुखीकरणमा २९ जनाको सहभागीता रहेको थियो। समापन कार्यक्रममा भरतपुर अस्पतालको मुखपत्र ‘मासिक बुलेटिन’ बिमोचन पनि गरिएको थियो।



Leave a Reply

Your email address will not be published.