बेलायतमा कोरोना संक्रमणको अवस्था भयावह : दैनिक संक्रमितको संख्या बढेको बढ्यै

हेल्थपोस्ट नेपाल

काठमाडौं – बेलायतमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै मंगलबार सबैभन्दा धेरै संक्रमित भेटिएका छन्। बेलायतमा २४ घन्टायता मात्र कम्तीमा पनि १ लाख ८३ हजार ३७ जना संक्रमित भेटिएका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा यतिधेरै संक्रमितहरु भेटिएको यो पहिलो घटना हो। यसअघि पनि सोमबार करिब १ लाख ३० हजार जना नयाँ संक्रमित थपिएका थिए। त्यस्तैगरी मंगलबार कोरोनाका कारण ५७ जनाको मृत्यु भएको छ। यसअघि सोमबार मात्र संक्रमणबाट १८ जनाको मृत्यु भएको थियो।

मंगलबार मृत्यु हुनेको संख्या पनि बढेको छ। बेलायतमा अहिलेसम्ममा १ करोड २५ लाख भन्दा बढी संक्रमित भइसकेका छन्। त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीहरुले अहिलेसम्म संक्रमणबाट कम्तीमा पनि १ लाख ४८ हजार भन्दा बढीको ज्यान गएको बताएका छन्।

पछिल्लो समय ओमिक्रोनको संक्रमण पनि बढ्दै गएको छ। जसका कारण बेलायत सरकारले कतिपय सार्वजनिक कार्यहरुमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ। पछिल्लो समय ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने संक्रमितहरुको संख्या पनि बढ्दो देखिएको छ।



Leave a Reply

Your email address will not be published.