मुम्बईमा कोरोना कहर : आजदेखि धारा १४४ लागू, नयाँ वर्ष मनाउन पनि रोक

हेल्थपोस्ट नेपाल

काठमाडौं – कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट भारतमा तीव्र रुपमा फैलिन थालिसकेको छ। मुम्बईमा पनि यसका केसहरु बढ्न थालेका छन्। ओमिक्रोनका कारण भारतमा तेस्रो लहर सुरु हुन थालेको अनुमान गर्न थालिएको छ।

मुम्बईमा पछिल्लो पटक थप २ हजार ५१० नयाँ कोरोना संक्रमित भेटिएका छन्। यसैलाई ध्यानमा राख्दै अब प्रशासनले मुम्बईमा आजदेखि धारा १४४ लगाइएको छ। मुम्बईमा ७ जनवरीसम्म धारा १४४ लागू रहनेछ। यससँगै नयाँ वर्ष मनाउन पनि रोक लगाइएको छ। सार्वजनिक स्थलमा नयाँ वर्ष मनाउन अब पाइने छैन। डिसेम्बर ३० देखि जनवरी ७ सम्म रेष्टुरेन्ट, होटल, बार, पब, रिसोर्ट र क्लबमा कुनै पनि पार्टी हुने छैन।

मुम्बईमा अचानक कोरोना संक्रमितको संख्या बढेको छ। मंगलबार १ हजार ३७७ संक्रमित फेला परेको मुम्बईमा बुधबार २ हजार ५१० नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्यमन्त्री राजेश टोपेले पोजेटिभ दर चिन्ताजनक रुपमा बढिरहेको बताए। अहिले पोजेटिभ दर ४ प्रतिशत रहेको र यदि यो ५ प्रतिशतमा पुगे कडा प्रतिबन्ध लगाइने उनले बताए।

बुधबार नै त्यहाँको सरकारले नयाँ कोभिड गाइडलाइन्स पनि जारी गरेको छ। जसअन्तर्गत नयाँ वर्षलाई लिएर धेरै प्रतिबन्ध पनि लगाइएको छ। नयाँ निर्देशिकाका अनुसार हल वा रेस्टुरेन्टजस्ता बन्द ठाउँमा ५० प्रतिशत र खुला ठाउँमा २५ प्रतिशत सिट क्षमतालाई मात्र अनुमति दिइनेछ।

स्वास्थ्य विभागका अधिकारीहरूले मुम्बईमा संक्रमण बढे पनि अधिकांश बिरामीहरूलाई अस्पतालमा भर्ना गरिहाल्नुपर्ने अवस्था भने आइनसकेको बताएका छन्।



Leave a Reply

Your email address will not be published.