घोलक र सिरिन्ज अभावमा स्थगित फाइजर खोप अभियान १० दिनभित्र सुरु हुने

हेल्थपोस्ट नेपाल

काठमाडौं – सरकारले स्थगित भएको फाइजर खोप लगाउने अभियान १० दिनभित्र सुरु गर्ने भएको छ। काठमाडौंसहित आठ जिल्लामा १२ देखि १७ वर्ष उमेरका किशोरकिशोरीलाई फाइजर खोप १० दिनभित्र दिन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल जानकारी दिए।

यसअघि मन्त्रालयले सूचना जारी गर्दै पुस १३ गतेदेखि सुरु गर्ने भनेको फाइजर खोप अभियान तत्कालका लागि स्थगित गरेको जानकारी दिएको थियो। मन्त्रालयले खोपको लागि आवश्यक पर्ने घोलक र फाइजर खोपलाई चाहिने सिरिन्जको अभावले केही दिनको लागि खोप अभियान स्थगित गरेको जनाएको थियो।

सचिव पोखरेलले फाइजर खोपको लागि आवश्यक पर्ने घोलक आइसकेको र सिरिन्ज पनि पुस २० गतेसम्म आइपुग्ने बताए।

फाइजर खोप अभियानको लागि फाइजर कम्पनीले बनाएको ०.३३ एमएमको सिरिन्ज आवश्यक पर्छ। खोप अभियानको लागि ६ लाख ६४ हजार ६५० मात्रा फाइजर खोप आइसकेको छ।



Leave a Reply

Your email address will not be published.