डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले डरलाग्दो परिस्थितिको सिर्जना हुँदै : डब्लुएचओ

हेल्थपोस्ट नेपाल

काठमाडौं – डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले डरलाग्दो परिस्थिति सिर्जना हुनलागिरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ। डब्लुएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले युरोप र अमेरिकामा ठूलो संख्यामा ओमिक्रोनका संक्रमितहरू देखा परिरहेको भन्दै यसले विकराल अवस्थाको सिर्जना गर्न गइरहेको बताएका हुन्।

डा. टेड्रोसले भने, ‘थकित स्वास्थ्यकर्मीमा यसले निकै उच्च चाप थप्नेछ र थपिसकेको पनि छ। र, स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था नजिक पुगेका छन्।’ उनले दुईवटा भेरियन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै चेतावनी दिएका छन्।

अध्ययनहरूले ओमिक्रोन डेल्टाभन्दा कम खतरनाक तर, निकै संक्रामक रहेको देखाएका छन्। रोयटर्सकाअनुसार विश्वभरि यतिखेर दैनिक झन्डै नौ लाख संक्रमित थपिइरहेका छन्।

फ्रान्सका स्वास्थ्यमन्त्रीले ओमिक्रोनका हकमा अब लहर मात्र भनेर नपुग्ने बरु ‘आँधीजस्तो लहर’ भन्नुपर्ने बताएका छन्।

अमेरिकाका सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले सिएनएनसँगको कुराकानीमा कोरोना संक्रमणले जनवरीको अन्त्यसम्ममा अमेरिकामा उच्च बिन्दु लिने सम्भावना रहेको बताए।



Leave a Reply

Your email address will not be published.