अस्पताल बनाउन जग्गादान

हेल्थपोस्ट नेपाल

रसुवा – पर्यटकीय क्षेत्र लाङ्टाङमा बनाउन लागिएको अस्पताल भवन निर्माणका लागि स्थानीय बासिन्दाले जग्गादान गरेका छन्। मकवानपुर, हेटौँडामा सञ्चालित सिद्धस्थल रूरल कम्युनिटी हस्पिटलले आफ्नो शाखाका रूपमा मुण्डु क्षेत्रमा अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता जनाएपछि स्थानीयवासीले दुई रोपनी पाँच आना दुई दाम जग्गा अस्पतालका नाउँमा निःशुल्क दिएका छन्।

जग्गा दान गर्नेमा साविक लाङ्टाङ गाविस वडा नं २ हाल गोसाइँकुण्ड गाउँपालिका वडा नं ४ निवासी सोनामदोर्जे तामाङ, तेन्जेन स्याङ्बा र छिरिङदावा तामाङ रहेको लाङ्टाङका समाजसेवी ढिण्डुप तामाङले जानकारी दिए।

दानबापत प्राप्त कित्ता नम्बर १८५, १९२ र १९५ को जग्गा रजिष्ट्रेशन पारित भई अस्पतालका नाउँमा जग्गाधनी प्रमाणपूर्जा प्रदान गरिसकिएको मालपोत कार्यालयका प्रमुख गणेश श्रेष्ठले जानकारी दिए।

रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष तथा रसुवा ज्याङ्लाङ निवासी बलराम न्यौपानेका प्रस्तावमा मुण्डुमा अस्पताल निर्माण गर्न गृहकार्य अगाडि बढाइएको सिद्धस्थल रूरल कम्युनिटी हस्पिटल अस्पतालका सञ्चालक दामोदरप्रसाद गौतमले बताए।

हाल अमेरिकामा बस्ने डा. अवन गौतमको समेत सहयोग रहने अस्पताल आगामी २०८० सालभित्र सञ्चालनमा ल्याइने लक्ष्य रहेको बताइन्छ। भवन निर्माणका लागि आर्किटेक्ट इन्जिनियर अनिल शर्माले डिजाइन गर्दैछन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *