धामी, बालक र अस्पताल

एउटै समयमा फरक-फरक चेतना, फरक-फरक आर्थिक अवस्था, फरक स्वास्थ्यको पहुँच, फरक बुझाइका कथाहरु देख्ने मौका सायद सबै चिकित्सकलाई हुन्छ होला । कतै एकपटक हाछ्युँ आउँदा डाक्टर खोज्दै दौडिन सक्ने व्यक्तिहरु छन् भने सोही समयमा महिनौंसम्म बिरामी हुँदा पनि अस्पतालको छाया पनि पर्न नहुने मानसिकताका व्यक्ति पनि छन्।

बेलाबखतमा दुर्गम जिल्लाबाट सल्लाह गर्न फोन आउने गर्छ मलाई। अन्दाजी पाँच वर्षको बालक निकै सिकिस्त अवस्थामा अस्पतालको इमर्जेन्सी विभागमा आइपुग्छ। उसका बाबुले बिरामी भएको एक महिनामा अस्पताल ल्याउने कष्ट गरेकोमा आश्चर्य मान्ने कि टिठ मान्ने भन्ने दुविधा हुन्छ चिकित्सकलाई।

आश्चर्य मान्ने हो भने, अचेल स्वास्थ्य संस्था नभएको कुनै जिल्ला नगरपालिका, गाउँपालिका छैन होला। स्वास्थ्यका चेतनामूलक चेतावनी र जानकारी नपुगेको कुनै क्षेत्र छैन होला। तर पनि अन्धविश्वासलाई चिर्ने गरी मन्जुश्रीको खड्गजस्तो कुनै उपाय सुझेनछ अहिलेसम्म। वास्तवमा भन्नुपर्दा चेतनाको विकास शताब्दी पछाडि पर्नुलाई टीठलाग्दो अवस्था नै मान्नुपर्छ।

एक महिना पुग्न केही दिन मात्रै बाँकी रहेछ बच्चालाई ज्वरो आएको। तर, हरेक दिन धामीको शरणमा जाँदै गर्दा आयुका रेखाहरु छोटिँदै गएको पत्तो पाएनछन् उसका बाबुले। अन्त्यमा जब बच्चाको होस नै गुम्ने अवस्थामा पुग्छ, तब बल्ल आफन्तको करबलमा अस्पतालको शरणमा आइपुग्छन् ती निर्दोष बालकका अज्ञानी अटेरी बाबुआमा। इमर्जेन्सीमा आइपुग्दा निकै सिकिस्त देखिन्छ बालक। स्वासको गति निकै बढेको छ, पसिना-पसिना छ। ज्वरो रन्किएको छ। शरिरमा अक्सिजनको मात्रा निकै कम छ। एक्स-रे गरेर हेर्दा दायाँ फोक्सोमा पुरै पानी जमेकोले सेतो देखिन्छ। सुइले पानी निकाल्न खोज्दा पुरै पिप निस्किन्छ। सहज अनुमानले त्यो क्षयरोग हुने सम्भावना देखिन्थ्यो‍।

एक महिनासम्म फोक्सोको बाहिरी झिल्लीमा पिप जमेर बसेको त्यो बालकलाई बचाउन निकै मुस्किल हुन्छ। त्यो पिप सकेजति निकाल्ने कोशिश गरिन्छ। त्यस्तो बेलामा करङका दुई हड्डीबीचबाट पाइप छिराएर पिप निस्किन दिन पर्ने हो। तर, त्यस्तो किसिमको पाइपको अभाव हुन्छ। र, त्यस्तो गर्न पनि ती बाबु मान्ने पक्षमा हुन्थे जस्तो लाग्दैन। किनकि, अझै पनि उनलाई अस्पतालमा आएकोमा पछुतो थियो। सानो सुईले पिप निकालेर प्रमाण देखाउँदा पनि छातिमा सुई घोचेको सशंकित देखिन्थे।

हेर्दाहेर्दै आफ्नो अगाडिको त्यो बालकको अवस्था ओरालो लाग्छ। उसका आयुका अन्तिम पल नजिक आइपुग्छन्। न त कुनै एन्टिबायोटिकले नै काम गर्ने समय छ, न त त्यो रोग पालेर छिप्पिएको अवस्थामा पिप निकाल्ने प्रयासले पिप कम भएर नै ज्यान जोगाउन सकिने अवस्था छ। त्यो ब्याक्टेरियाको संक्रमण शरीरभरि फैलिएर धेरै अंगहरुलाई अपुरणीय क्षति पुर्याइसकेको छ। यो सब हुनुको जड समस्या के हो त? म एक क्षण घोत्लिन्छु। त्यो दुर्गम डोल्पाबाट फोनमा भएको सरसल्लाहमा त मलाई यति विक्षिप्त बनाउँछ भने उपचारमा प्रत्यक्ष संलग्न ती डाक्टरको मन कति कुँडिएको होला?

अर्को विस्मयपूर्ण कुरा के भन्दा, एक हप्ता अगाडि मात्रै त्यो बालकको दिदीको यही कारणले मृत्यु भएको थियो। दुवै पटक अस्पतालमा आउँदा निकै ढिलो भएको देखिन्छ। धामीले अस्पताल कुनै हालतमा जान नहुने सल्लाह दिएको कारणले समयमा उपचारबाट वञ्चित ती कलिला बालबालिकाको आत्माले कसरी शान्ति प्राप्त गर्ला त!

त्यो फोक्सोमा जमेको पिप अन्धविश्वासको पिप थियो। रोग फोक्सोमा भन्दा पनि चेतनामा लागेको थियो। रोगी चेतनाले गर्दा त्यस्ता पिपहरुले महिनौंसम्म शरीरमा आश्रय पाउनु नौलो हैन। समाज, शिक्षा, स्वास्थ्य सबै क्षेत्रलाई त्यो बालकको फोक्सोमा जमेको पिपले प्रश्न चिन्ह गरिरहेको थियो, ‘के मलाई निकाल्न सक्दैनौं?’ त्यो बालकको अन्तिम इहलिला सम्पूर्ण स्वास्थ्य, शिक्षा र समाजका लागि व्यङ्ग्यको क्षेप्यास्त्र भन्दा कम थिएन।

एउटा पछि थाहा पाइएको प्रसंग घतलाग्दो थियो, त्यही डोल्पा दुनैमा भएका आफन्तले धेरै कर गरेपछि बल्ल बाबुले त्यो बच्चा लिएर आएका रहेछन्। यो घटनापूर्व नै त्यो आफन्तको दुईजना बच्चा अस्पतालमै ल्याएको कारण मृत्युको मुखबाट जोगिएका रहेछन्। त्यही भएर उनको धामीभन्दा पनि अस्पतालप्रति विश्वास बढी थियो। अर्कोपट्टि बिरामीको बुवालाई भने अझै पनि अस्पतालमा ल्याएर पिप निकालेका कारण मृत्यु भएको जस्तो भान भइरहेको थियो। उनको विश्वास अझै जित्न सकिएको थिएन। सायद ठूलो मान्छे नभएकोले पनि त्यो बालकले अन्तिम घडीमा पनि आफ्नो पीडा शब्दमा भन्न सकेन। बिचरा बच्चा न पर्यो, निरीह थियो। त्यसमाथि झन् नेपाली पनि नबुझ्ने। उसको आफ्नै लयमा एक महिनादेखि संघर्ष गरिरहेको जस्तो लाग्यो।

अन्धविश्वास निकै अन्धो हुन्छ। अरुले प्रदान गरेको सत्दृष्टिले पनि देख्दैन। ज्ञानको उज्यालोले अन्धविश्वासको अन्धकार भेदन गर्न शताब्दी लाग्न सक्छ। शिक्षा नै जडताको उपचार हो। सतप्रतिशत शिक्षित भएमा त्यो शताब्दी लाग्ने काम दशकमा गर्न सकिन्थ्यो होला। त्यसैले अन्धविश्वास हटाउन अन्धविश्वासमा विश्वास गर्ने व्यक्तिहरुभन्दा अन्धविश्वासलाई प्रश्रय दिने जड व्यक्तिमा धामीझाँक्रीजस्तालाई चेतना दिने कार्यक्रम सशक्त गर्दा फलदायी हुने थियो कि?, परम्परामा विस्वास लाग्छ र तोड्नै सकिन्न भने पनि अस्पताल जानै हुन्न भनेर त कमसेकम कसैले नभनिदिएमा राम्रो हुन्थ्यो। जस त अस्पताल र डाक्टरले नपाउलान् तर, समयमा उपचार प्राप्त गर्न सकेमा ज्यान जोगिने आश त हुन्थ्यो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *