सरकारसामू सात माग तेर्स्याउँदै डा. केसीले दिए सत्याग्रह सुरु गर्ने चेतावनी

काठमाडौं – डा. गोविन्द केसीले सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्। आज सात मागसहितको प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले माग पूरा नभए जुनसुकै बेला सत्याग्रह सुरु हुनसक्ने चेतावनी दिएका हुन्।
मेडिकल माफियाहरुले फेरि विद्यार्थीहरुबाट अवैध रुपमा अर्बौं रुपैयाँ असुल्ने प्रयास गरिरहेका भन्दै डा. केसीले अहिलेको सत्तानजिक रहेका तथा आपराधिक पृष्ठभूमिका सुनील शर्माले सञ्चालन गरिरहेका मेडिकल कलेजमा प्रति विद्यार्थी बीसौं लाख रुपैयाँ अवैध असुली गर्न खोजिएको भनेर समाचारहरु आइरहेकाप्रति आफूहरु चुप लागेर बसिरहन नसक्ने बताएका हुन्।
‘मेडिकल माफियाहरुले फेरि विद्यार्थीहरुबाट अवैध रुपमा अरबौं रुपैयाँ असुल्ने प्रयास गरिरहेका छन्। तीमध्ये अहिलेको सत्तानजिक रहेका तथा आपराधिक पृष्ठभुमिका सुनील शर्माले सञ्चालन गरिरहेका मेडिकल कलेजमा प्रति विद्यार्थी बीसौं लाख रुपैयाँ अवैध असुली गर्न खोजिएको भनेर समाचारहरु आइरहेका छन्। यो अवस्थामा जिम्मेवार नागरिकका नाताले हामी चुप लागेर बसिरहन सक्दैनौं।’, उनले विज्ञप्तिमा भनेका छन्।
आफूहरु लामो समयदेखि मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र न्यायका लागि संघर्ष गरिआएका बताउँदै डा. केसीले पछिल्लो पल्ट प्रधानमन्त्री शेरबहादुर देउवासँग भएका प्रतिबद्धता पनि हालसम्म पूरा नभएको बताएका छन्।
डा. केसीले बीपी प्रतिष्ठानका भ्रष्ट पदाधिकारीहरुलाई तत्काल बर्खास्त गरी न्यायिक छानविन आयोग बनाउन, अवैधरुपमा अतिरिक्त असुली गर्ने मेडिकल कलेजहरुको सम्बन्धन खारेजी गर्न, सार्वजनिक संस्थाहरुमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड कार्यान्वयन गराउन, निर्मला कुर्मीको घटनामा सत्यतथ्य छानविन गर्न, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउन, नेपालको मेडिकल शिक्षा गैरनाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले त्यो नीति कार्यान्वयन सुनिश्चित गराउनलगायतका माग अघि सारेका छन्।
डा. केसीका मागहरु–
१) बीपी प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीहरुलाई तत्काल बर्खास्त गरी न्यायिक छानविन आयोग बनाएर छानविन शुरु गरियोस् । मेडिकल माफियाका प्रतिनिधि खगेन्द्र प्रसाद अधिकारीलाई सिटिइभिटीको उपाध्यक्षबाट तत्काल बर्खास्त गरियोस् । अवैध रुपमा अतिरिक्त असुली गर्ने मेडिकल कलेजहरुको सम्बन्धन खारेजीसम्मका कदम चालियोस्।
२) सार्वजनिक पदमा रहनेहरुको स्वार्थको द्वन्द्व रोक्नका लागि कानुन ल्याउने तथा सार्वजनिक संस्थाहरुमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड कार्यान्वयन गर्ने लगायत यस अगाडि हामीसितको भेटमा गरिएका सबै प्रतिबद्धताहरु पूरा गरियोस् ।
३) निर्मला कुर्मीको अपहरण, बन्धक र हत्या गर्नेहरुमाथि कानुनी कारवाहीका लागि आन्दोलनरत अभियन्ताहरुका माग पूरा गर्दै तत्काल सरकारद्वारा गठित छानविन समितिको प्रतिवेदन सार्वजनिक गरियोस् । सिफारिसअनुसार अविलम्ब आरोपीहरुलाई न्यायको कठघरामा उभ्याइयोस् ।
४) न्याय सम्पादनको सर्वोच्च पदमा बसेर फैसलाहरुको किनबेच गर्ने, न्यायालयमा घुसखोरी र भ्रष्टाचार संस्थागत गर्ने तथा शक्ति पृथकीकरणको सिद्धान्त लत्याउँदै राज्यको कार्यकारी अंगमा हिस्सा खोज्ने प्रधान न्यायधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाइयोस् । जबरा, उनका नातेदार र बिचौलियाहरुको सम्पत्ति तत्काल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत छानविन गरेर आवश्यक कारवाही गरियोस् ।
५) विसं. २०८५ देखि नेपालको मेडिकल शिक्षा गैर–नाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले त्यो नीति कार्यान्वयन सुनिश्चित गरियोस् । अब कुनै पनि निजी मेडिकल कलेज नखोल्ने नीति सार्वजनिक गरियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस शुरु भइसकेको अवस्थामा आगामी शैक्षिक सत्रदेखि गेटा मेडिकल कलेजमा र त्यसपछिको शैक्षिक सत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस शुरु गर्ने कुरालाई निश्चित गरियोस् । २०८० सालसम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था पुर्याउनुपर्ने प्रावधान चिकित्सा शिक्षा ऐनमा रहेकाले प्रदेश नं. २ र गण्डकी प्रदेशमा पनि तदारुकताका साथ त्यस्ता संस्था निर्माणलाई गति दिइयोस् । हामीसित सम्झौता भएबमोजिम इलाम वा पाँचथर, उदयपुर र डडेल्धुरा वा डोटीमा समेत सरकारी मेडिकल कलेज खोल्ने कामलाई अघि बढाइयोस् । काठमाडौं विश्वविद्यालयको आंगिक र विस्तारित कार्यक्रम रहेका कलेजहरुमा समेत चिकित्सा शिक्षा ऐन अनुसार ७५ प्रतिशत छात्रवृत्तिको प्रावधान लागू गरियोस् ।
६) जिल्ला अस्पताल लगायत सरकारी अस्पतालहरुमा सेवा शुल्क निजीकै हाराहारी पुगेकाले सबै सरकारी अस्पतालका सेवाहरु निःशुल्क गर्ने गरी बजेटको व्यवस्था गरियोस् । स्वास्थ्य चौकीदेखि केन्द्रीय अस्पतालसम्म उपलब्ध हुनुपर्ने भनेर सुचीकृत सबै औषधि तत्काल उपलब्ध गराइयोस् तथा त्यसरी उपलब्ध हुने औषधिको सुचीमा नयाँ अत्यावश्यक औषधिहरु समेत थपियोस् ।
७) यस अगाडि हामीसित भएको सबै सम्झौताहरु कार्यान्वयन गरियोस् । तीमध्ये चिकित्सा शिक्षा ऐनको संशोधन गर्दा अध्यक्ष प्रधानमन्त्री तथा सहअध्यक्ष शिक्षा र स्वास्थ्यमन्त्री हुने व्यवस्था हटाएर कार्यकारी उपाध्यक्षलाई नै अध्यक्षताको जिम्मेवारी दिने व्यवस्था गरियोस् ।