इलाम नगरपालिकाद्वारा आँखा अस्पताल सञ्चालन

हेल्थपोस्ट नेपाल

इलाम – इलाम नगरपालिकाले आँखा अस्पताल सञ्चालनमा ल्याएको छ। नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर छुट्टै कार्यविधि जारी गरी अस्पताल निर्माण गरेको हो।

जिल्लामा स्थापना भएको सामुदायिक आँखा अस्पताल स्थानीय तहले सञ्चालन गरेको देशकै पहिलो अस्पताल रहेको बताइएको छ। अस्पताल निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा नगरपालिकाले रकमान्तर गरेर रु ५० लाख जुटाएको थियो। चालु आवमा भने रु १ करोड विनियोजन भएको छ। विनियोजित रकममध्ये रु ५७ लाख ९० हजार खर्च भएको छ। यसमध्ये रु ५३ लाख २४ हजार पूँजीगतमा र रु ४ लाख ६५ हजार सञ्चालनमा खर्च भएको छ।

अस्पतालमा अहिले शल्यक्रियाबाहेकको सेवा उपलब्ध छ। आँखाको जनरल ओपिडी, जनरल उपचार, सामान्य शल्यक्रिया, चश्मा बनाउनेलगायतका सेवा दिइनेछ। जिल्लामा आँखा अस्पताल नहुँदा आँखाका सामान्य बिरामीले पनि जिल्लाबाहिर गएर सेवा लिनुपर्ने अवस्था थियो। अस्पतालमा सातौं तहको एक नेत्र विषेशज्ञ, पाँचौं तहका एक नेत्र सहायक, एक फार्मेसिष्ट र एक चश्मा बनाउने प्राविधिक राखिएको छ। आँखा अस्पताल सञ्चालनपछि जिल्लाका ग्रामीण भेगका बासिन्दालाई समेत सहज हुने भएको छ।



Leave a Reply

Your email address will not be published.