क्षयरोग नियन्त्रणमा लगानी बढाउन माग

हेल्थपोस्ट नेपाल

बागलुङ – नेपालमा क्षयरोगबाट मृत्यु हुनेको सङ्ख्या बर्षेनी बृद्धि भइरहेको छ। स्वास्थ्य कार्यालय बागलुङको तथ्यांकअनुसार हरेक वर्ष नेपालमा ६८ हजार क्षयरोगी भेटिने र तीमध्ये १७ हजार अकालमा मृत्यु हुने गर्दछ। कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले भने, ‘मृत्यु हुनेसँगै भेदभाव र लाञ्छनाले रोगीको सिंगो परिवार, समाज बढी चिन्तित र कमजोर बन्ने गरेका छन्।’ उनका अनुसार पछिल्लो समय क्षयरोग नियन्त्रणमा सरकारको लगानीवृद्धि भएको छैन। उनले जिल्लाको बडिगाड गाउँपालिका बढी प्रभावित भएको जानकारी दिए।

क्षयरोग भएकालाई कोरोना सङ्क्रमण, एचआइभी तथा अन्य सङ्क्रामक रोगको बढी समस्या हुने बताइएको छ। स्वास्थ्य कार्यालयद्वारा हालै आयोजित ‘लाञ्छना तथा भेदभावविरुद्धको अभियानसम्बन्धी अभिमूखिकरण कार्यक्रम’ मा कार्यपत्र प्रस्तुत गर्दै क्षयकुष्ठ निरीक्षक घिमिरेले क्षयरोगमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिए। नेपालका कुल सङ्क्रमितमध्ये झन्डै ३७ प्रतिशतमा कुनै न कुनै रुपमा क्षयरोग सुषुप्त रुपमा रहेको उनले बताए।

एचआइभी सङ्क्रमणको अवस्था पनि डरलाग्दो रहेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले बताए। ‘क्षयरोग जस्तै एचआइभीको जोखिम पनि बढी छ’, उनले भने, ‘एचआइभी संक्रमण कम गर्न आप्रवासी कामदारको परिवार, लागूपदार्थ सेवनकर्ता र यौनकर्मीहरुमा बढी लगानी गर्नुपर्ने भएको छ।’ उनले असुरक्षित यौन सम्पर्क र लागुपदार्थ सेवनकर्तामा ध्यान दिन सकेमा यो रोगबाट बच्न सकिने बताए। उनका अनुसार जिल्लामा पछिल्लो समय एउटै सुई प्रयोग गरेर लागुपदार्थ सेवनकर्ताबाट बढी सङ्क्रमण देखिएको छ।

रोकथामका उपायसँगै भेदभाव र लाञ्छना हुन नदिन पनि भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *