थप ६ लाख ६४ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो

काठमाडाैं – नेपालमा थप ६ लाख ६४ हजार ५ सय ६० डोज फाइजर खोप आएको छ।
कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट प्राप्त भएको खाेप आज बिहान नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाले बताए।
सरकारले आउँदो १३ गतेदेखि काठमाडाैं उपत्यकाका तीनसहित आठ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीलाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको छ।
नेपालले कोभ्याक्स सुविधामार्फत फाइजर खोपको एक लाख ६ सय २० डोज गएको कात्तिक महिनाको दोस्रो हप्ता प्राप्त गरेको थियो।
सरकारले प्रदेश नम्बर १ को झापा, मोरङ र सुनसरी, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, र पर्सा, बागमती प्रदेशको काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुलीमा १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर खोप दिने जनाएको छ।
यस्तै गण्डकी प्रदेशको कास्की र बागलुङ‚ लुम्बिनी प्रदेशको रुपन्देही, बाँके र दाङ‚ कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्षका किशोरकिशोरीलाई खोप दिने जनाएको छ।