प्रारम्भिक नतिजाले अन्य भेरियन्टले संक्रमण भएका व्यक्तिभन्दा ओमिक्रोन भेरियन्टले संक्रमण भएका ५० देखि ७० प्रतिशतसम्म कम मानिसहरू अस्पताल भर्ना हुनुपर्ने देखाएको छ।
स्कटल्यान्डमा गरिएको अध्ययनमा कोभिडबाट कति बिरामी भए र उनीहरूमध्ये कति अस्पताल पुगे भन्ने तथ्यांक हेरिएको छ।
त्यसले ओमिक्रोन पनि डेल्टा भेरियन्ट जस्तै जोखिमपूर्ण हुने हो भने अस्पतालमा ४७ जना बिरामी भर्ना हुनुपर्ने तर अहिले १५ जना मात्रै बिरामी भर्ना भएको बताएको छ।
अध्ययनकर्ताहरूले अस्पताल भर्ना हुने संख्यामा लगभग दुई तिहाइ कमी देखिएको बताएका छन्। यद्यपि, अध्ययनमा निकै कम बिरामी र जोखिममा रहेका जनसंख्याको तथ्यांक छ।
दक्षिण अफ्रिकामा गरिएको अर्को अध्ययनले पनि ओमिक्रोनको लहर कम खतरनाक भएको देखाएको छ। अध्ययनले अन्य लहर र अन्य भेरियन्टको सङ्क्रमणको तुलनामा ७० देखि ८० प्रतिशत कम अस्पताल भर्ना हुनुपर्ने अवस्था आउने देखाएको छ। तर अध्ययनले अस्पताल पुग्ने बिरामीका लागि यो भेरियन्ट र अन्य भेरियन्टको सङ्क्रमणमा खास फरक नदेखिएको बताएको छ।
ओमिक्रोन भेरिअन्ट कम घातक हुनुका कारण यसको बनौट र खोप वा सङ्क्रमणका कारण मानव शरीरमा बनेको प्रतिरोधी क्षमतालाई मानिएको छ।
लन्डनमा गरिएको एक अध्ययनले ओमिक्रोनलाई उत्परिवर्तनले डेल्टाभन्दा कम घातक बनाएको देखाएको छ। अध्ययनकर्ताहरूले खोप नलगाएको वा पहिले सङ्क्रमण नभएका व्यक्तिमा पनि ओमिक्रोन सङ्क्रमण हुँदा अस्पताल जानुपर्ने अवस्था ११ प्रतिशतले कम हुन्छ।
सो अध्ययनले प्रतिरोधी क्षमता विकास गरेका मानिसमा ओमिक्रोन सङ्क्रमण हुँदा अस्पताल जानुपर्ने अवस्था २५ देखि ३० प्रतिशतले कम हुने र एक दिनभन्दा बढी अस्पतालमा बस्नुपर्ने अवस्था ४० प्रतिशतले कम हुने नतिजा निकालेको छ।