भारतमा बढ्दै कोरोना संक्रमण, ७४९५ संक्रमित थपिए, २३६ जनामा ओमिक्रोन पुष्टि

हेल्थपोस्ट नेपाल

नयाँदिल्ली–भारतमा कोरोना संक्रमण पुनः बढ्दै जान थालेको छ। थप ७४९५ जनामा संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ। तीमध्ये २३६ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ। महाराष्ट्रमा ६५ जना, दिल्लीमा ५४ तथा तेलङ्गानामा २४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको हो।

सोही अवधिमा थप ४३४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७८ हजार ७५९ पुगेको छ। पछिल्ला हप्ताहरुमा संक्रमणको तुलनामा मृत्युदरमा भने उल्लेख्य रुपमा कमी आएको देखिएको बताइएको छ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ७८ हजार २९१ रहेको छ। सक्रिय संक्रमितको यो संख्या ५७६ दिनकै कम रहेको अधिकारीले जनाएका छन् ।

गएको २४ घण्टामा भारतमा छ हजार ९६० कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४२ लाख ८ हजार ९२६ जनालाई कोरोना संक्रमण निको भएका छन्। भारतमा कोरोना भाइरस निको हुने दर ९८.४१ प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६६ करोड ८६ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ। यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्व ३८ करोड ४० लाख भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *