क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै डब्लुएचओको चेतावनी : जीवन नै रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो

हेल्थपोस्ट नेपाल

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ओमिक्रोन भेरियन्ट विश्वव्यापी रूपमा फैलिएकोले आफ्ना छुट्टीका योजना रद्द गर्न आग्रह गरेको छ। आउँदै गरेको क्रिसमस र नयाँ वर्षलाई लक्षित गरी चेतावनी सन्देश जारी गर्दै डब्लुएचओले सार्वजनिक स्वास्थ्यको रक्षा गर्न छुट्टीका योजना रद्द गर्न आग्रह गरेको हो।

अहिले विश्वका मानिसले कठिन निर्णय लिनसक्नुपर्ने बताउँदै डब्लुएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयसस भने, ‘जीवन नै रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो।’ ओमिक्रोन डेल्टा भेरियन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य प्राप्त भएको भन्दै उनले कार्यक्रमहरू रद्द गर्नु वा पछि सार्नु राम्रो हुने बताए।

फ्रान्स र जर्मनीसहित कैयौं राष्ट्रले कडा नियमहरू लागु गर्नुका साथै नयाँ भेरियन्ट फैलिन नदिनका लागि यात्रामा प्रतिबन्ध लागु गरेका बेला डा. गेब्रेयससको पछिल्लो भनाइ आएको हो। नेदरल्याण्डल‍े त क्रिसमसका अवसरमा कडा लकडाउन नै लगाउने निर्णय गरेको छ।

केही देशले भने प्रतिबन्ध नलगाउने जनाएका छन्। जसले संक्रमणलाई अझै तिव्र गतिमा फैलाउनसक्नेमा गेब्रेयससले चिन्ता व्यक्त गरेका छन्। अमेरिकाका प्रमुख संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमासमेत संक्रमण सर्न सक्ने चेतावनी दिए पनि ह्वाइट हाउसले भने लकडाउनको कुनै योजना नरहेको बताएको थियो।



Leave a Reply

Your email address will not be published.