भारतमा विवाह उमेरको विवाद : महिलाका लागि २१ वर्ष तोकिनु ठीक कि बेठिक?

भारतमा विवाहको न्यूनतम उमेर केटाका लागि २१ र केटीका लागि १८ वर्ष तोकिएको छ। बालविवाह रोकथाम ऐन, २००६ अन्तर्गत यो उमेरभन्दा कम उमेरको विवाह गैरकानूनी छ, जसमा दुई वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ।

तर, अब सरकारले महिलाका लागि यो सीमा २१ पुर्याउने प्रयास गरिरहेको छ र यस सम्बन्धमा संसदमा विधेयक ल्याउने तयारी भइरहेको छ। तर, धेरै विपक्षी दल र संगठनले यो विधेयकलाई लिएर विवाद सिर्जना गरेका छन्। अहिले भारतमा यो विषय निकै पेचिलो र चर्चामा छ।

यसअघि, सांसद जया जेटलीको अध्यक्षतामा १० सदस्यीय कार्यदल गठन गरिएको थियो, जसले नीति आयोगलाई सुझाव दिएको थियो। भारतका ठूला सहरहरूमा शिक्षा र करियरप्रति केटीहरूको परिवर्तनशील दृष्टिकोणका कारण प्रायः २१ वर्षको उमेरपछि मात्रै विवाह हुन्छ। अर्थात् यो निर्णयको सबैभन्दा बढी असर साना सहर र गाउँमा पर्नेछ, जहाँ केटाको तुलनामा केटीको शिक्षा र रोजगारीमा कम जोड, परिवारमा न्यून पोषण, स्वास्थ्य सेवामा अप्ठ्यारो पहुँच र कम उमेरमा विवाह गर्ने प्रवृत्ति रहेको उच्च छ।

के विवाहको न्यूनतम उमेर बढाउँदा यी केटीहरूको जीवनमा सुधार होला त? यी सरोकारका विषयमा कार्यदलसँग अनुभव आदानप्रदान गर्न र प्रस्तावप्रति असहमति व्यक्त गर्न केही सामाजिक संघसंस्थाले ‘योंग भ्वाइस नेशनल वर्किंग ग्रुप’ गठन गरेका थिए। यस अन्तर्गत महिला तथा बालबालिकाको स्वास्थ्य, शिक्षा आदि विषयमा १५ राज्यमा कार्यरत ९६ संस्थाको सहयोगमा जुलाइ महिनामा १२ देखि २२ वर्ष उमेर समूहका २ हजार ५ सय केटाकेटीसँग सोधिएको थियो।

राजस्थानको अजमेरकी ममता जांगिड जस्तै अन्य जो बालविवाहको शिकार हुनबाट बचेका थिए उनीहरुलाई पनि न्यूनतम उमेर बढाउने प्रस्ताव मन परेन। ममता अहिले १९ वर्षकी भइसकेकी छिन्, तर जब उनकी बहिनी ८ वर्षकी भइन् र उनी ११ वर्षकी भइन्, तब दुवैको विवाह गर्न परिवारबाट दबाब आयो।

राजस्थानका केही भागमा प्रचलित आटा-साटा प्रथाअनुसार जुन घरको केटाले विवाह गर्छ, त्यहाँ केटाको परिवारकै केटीसँग विवाह गर्नुपर्छ। यस लेनदेन अन्तर्गत ममता र उनकी बहिनीको विवाहको माग गरिएको थियो तर उनकी आमाले उनीहरूलाई साथ दिइन र धेरै गाली र घृणाको बाबजुद छोरीहरूको जीवन ‘खराब’ हुन दिइनन्। १८ वर्ष मुनिको विवाह कानुन अनुसार गैरकानूनी हुँदा यो घटना भएको थियो।

ममताका अनुसार यो सीमा २१ सम्म पुर्‍याउँदा पनि केही परिवर्तन हुने छैन। उनले भनिन्, ‘छोरी न पढेकी छिन्, न कमाउँछिन्, ठूली भएपछि घरमा बिहेको कुरा हुन्छ। त्यसलाई कसरी चुनौती दिने, आमाबुवाले १८ वर्षसम्म पर्खिरहेका छैनन्, कसरी रोक्ने?’ ममता चाहन्छिन् सरकारले केटीहरूलाई स्कूल र कलेज जान सजिलो बनाओस्, रोजगारीका अवसरहरू सृजना गरी उनीहरू बलियो र सशक्त बनाओस्।

बालविवाह होइन किशोर विवाह

विश्वका अधिकांश देशमा केटा र केटीको विवाहको न्यूनतम उमेर १८ वर्ष तोकिएको छ। भारतमा सन् १९२९ को शारदा ऐन अन्तर्गत विवाहको न्यूनतम उमेर केटाका लागि १८ र केटीका लागि १४ वर्ष तोकिएको थियो।

सन् १९७८ मा संशोधनपछि यो सीमा केटाका लागि २१ वर्ष र केटीका लागि १८ वर्ष पुर्याइयो। सन् २००६ मा बालविवाह रोकथाम ऐनले यी सीमितताहरू अपनाई केही राम्रा प्रावधानहरू थपेर यो कानुनलाई प्रतिस्थापन गर्‍यो।

युनिसेफ (संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय बाल कोष) का अनुसार विश्वभर बालविवाहमा लगातार गिरावट आएको छ र पछिल्लो दशकमा सबैभन्दा तीव्र गिरावट दक्षिण एसियामा भएको छ। अफ्रिका (३५%) र दक्षिण एसिया (३०%) मा १८ वर्ष भन्दा कम उमेरमा विवाहका घटनाहरू छन्। युनिसेफका अनुसार १८ वर्ष मुनिको विवाह मानवअधिकारको उल्लङ्घन हो।

यसले छोरीहरूले शिक्षा छाड्ने, घरेलु हिंसाको सिकार हुने र सुत्केरी हुँदा मृत्यु हुने जोखिम बढेको छ। यस्तो अवस्थामा सरकारको कार्यदलले छोरीहरुको शिक्षा, स्वास्थ्य र रोजगारीको हितलाई ध्यानमा राखी विवाहको उमेर बढाउने निर्णय गर्नुपर्ने हुन्छ।

भारतमा बच्चा जन्माउने क्रममा वा सम्बन्धित समस्याका कारण मातृ मृत्युदरमा उल्लेखनीय गिरावट आएको छ। युनिसेफका अनुसार यो संख्या सन् २००० मा १ लाख ३ हजारबाट घटेर २०१७ मा ३५ हजार पुगेको छ। यद्यपि, देशमा किशोरीहरूको मृत्युको सबैभन्दा ठूलो कारण यही हो।

के विवाहको उमेर बढाउनाले मातृ मृत्युदर रोक्न सकिन्छ?

योङ्ग भ्वाइस राष्ट्रिय कार्यसमूहकी दिव्या मुकन्द आमाको स्वास्थ्य गर्भधारणको उमेरमा मात्र भर पर्दैन भन्ने विश्वास गर्छिन्। ‘गरिबी र परिवारमा महिलाको न्यून पोषणको कमीले पनि मृत्यु निम्त्याउँछ र यो ढिलो गर्भावस्थाका कारणले पनि हुन्छ।’, उनले भनिन्।

भारतमा सहमतिको उमेर अर्थात् यौनसम्पर्कका लागि सहमतिको उमेर १८ वर्ष तोकिएको छ। विवाहको उमेर बढाएमा १८ देखि २१ वर्षसम्मको यौनसम्बन्ध ‘विवाहपूर्व यौनसम्पर्क’ को श्रेणीमा पर्नेछ।

विवाहअघिको यौनसम्पर्कलाई कानुनी मान्यता दिए पनि समाजले अहिलेसम्म स्वीकार गरेको छैन। योङ्ग भ्वाइसेस नेशनल वर्किंग ग्रुपकी कविता रत्न भन्छिन्, ‘यस अवस्थामा, गर्भनिरोधक र अन्य स्वास्थ्यसम्बन्धी सेवाहरूमा महिलाहरूको पहुँच कम हुनेछ वा उनीहरूले धेरै तिरस्कार पछि मात्र गर्भनिरोधका सामाग्रीमा पहुँच पाउनेछन्।’

उमेर तोकेर होइन् आत्मनिर्भर भएपछि बिहे

देशभरका महिलालाई लिएर गरिएको सर्वेक्षणमा धेरै केटीहरू पनि कानूनका कारणले आफ्नो परिवारलाई विवाह गर्नबाट रोक्न सक्ने भएकाले न्यूनतम उमेर २१ वर्ष पुर्याउनुपर्ने पक्षमा छन्। यसका साथै उनीहरु आफ्नो जीवनमा अरु केही परिवर्तन नआए र सशक्तिकरण नभए कानुनले मात्र बालविवाह रोक्न नसक्ने र गोप्य रुपमा भइरहने बताउँछन्।

दामिनी सिंह उत्तर प्रदेशको हरदोईको एउटा सानो गाउँमा बस्छिन्। करिब ७० परिवार रहेको गाउँमा अधिकांश मानिसहरु कृषि पेशा गर्छन्। दामिनीका अनुसार विवाह ढिलो हुनुपर्छ तर उमेरका कारण होइन। जब केटीले पैसा कमाउन थाल्छ, आत्मनिर्भर बन्छ, तब मात्र उसले विवाह गर्नुपर्छ, चाहे जुनसुकै उमेरको होस्।

उनको गाउँमा ५ परिवार मात्रै बाहिर काम गर्ने महिला छन्। दुईजना विद्यालयमा पढाउँछन्, दुईजना आशा कार्यकर्ता र एकजना आङ्गनवाडीमा काम गर्छन्। दामिनीले भनिन्, ‘हाम्रो गाउँबाट विद्यालय ६ किलोमिटर टाढा छ, दुई किलोमिटरको दुरी भयो भने पैदल हिँड्छन्, तर त्योभन्दा बढी गरिब परिवारले बाटोमा छोरीलाई पैसा खर्च गर्न चाहँदैनन्। तब तिनीहरूले आफ्नो शिक्षा गुमाउँछन्। र तिनीहरू कहिल्यै आफ्नो अस्तित्व बनाउन सक्षम हुने छैनन्।’

दामिनीका अनुसार छोरीहरू आफ्नै खुट्टामा उभिन र आफ्नो निर्णय आफैंले गर्न सक्ने र त्यसका लागि लड्नु परेमा आवाज उठाउन सक्ने गरी सरकारले तालिम केन्द्र खोल्नुपर्छ।

छोरीलाई बोझ ठाने सोच

झारखण्डको सरायकेलाकी प्रियंका मुर्मु सरकारको प्रस्तावको विरुद्धमा छिन् र दामिनी र ममताले जस्तै राम्रो शिक्षा र स्वास्थ्य सुविधाको आवश्यकताको बारेमा कुरा गर्छिन्। उनका अनुसार मूल समस्या भनेको केटीहरूलाई बोझको रूपमा सोच्नु हो र जबसम्म उनीहरू परिवर्तन हुँदैनन् बालविवाह उमेर तोकेर मात्र रोकिँदैन।

प्रियंकाले आफ्नो क्षेत्रमा अहिले पनि धेरै बालविवाह भइरहेको दाबी गरिन्। ‘मानिसहरू अहिलेको कानुनबारे जानकार छन्, तर डराउँदैनन्। कुनै घटनामा कडा कारबाही भयो भने पो केही परिवर्तन आउँछ। नत्र २१ वर्षसम्म तोकिए पनि बालविवाह रोकिँदैन। किनकी महिलाको आवाज घरमा दबाइएको हुन्छ।’, उनले भनिन्।

उनी केटाजस्तै केटीलाई पनि समान अधिकार चाहन्छिन्। जसले गर्दा उनीहरूले विवाह गर्ने निर्णय स्वयं गर्न सकुन्। (बिबिसी हिन्दीबाट)



Leave a Reply

Your email address will not be published.