हुम्लामा आज बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइँदै

हेल्थपोस्ट नेपाल

काठमाडौं – स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार पाँच गाउँपालिकाका लागि ३ हजार ५०० बढी कोभिड–१९ विरुद्धको मोडेर्ना खोप गाउँ पठाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारबाट देशभरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको सो खोप लगाउन भने पनि आजदेखि हुम्लामा लगाउन सुरु गरिएको हो।

स्वास्थ्य सेवा कार्यालयले खार्पुनाथ, ताँजकोट, नाम्खा र अदानचुली गाउँपालिकामा रहेका बालबालिकाको लागि ३ हजार ५३० मोडेर्ना खोप खोप केन्द्रमा पठाएको छ। आइतबारबाट खोप लगाउने भए पनि प्राविधिक समस्याका कारण खोप गाउँमा पठाएर सोमबारबाट बालबालिकालाई लगाउन थालिने कार्यालयका कोल्डचेन असिस्टेन्ट मानबहादुर रोकायाले जानकारी दिए।

खार्पुनाथ ७२०, ताँजकोट ८३०, नाम्खा ५५०, अदानचुली १ हजार ८० र डाडाफया स्वास्थ्य चौकीमा ३५० खोप पठाइएको उनले बताए। खोपसहित आवश्यक पर्ने सामग्री सबै तयारी पूरा हुनुका साथै आजबाट जिल्लाका बालबालिकालाई खोप एकसाथ दिइने उनले बताए।

उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीबाहेक अन्य सबै वडामा खोप लगाइने उनले जानकारी दिए। लिमीमा चिसो र हिमपात भएका कारण स्वास्थ्यकर्मी पुग्न नसक्ने भएकाले त्यहाँका बालबालकालाई न्यानो भएपछि मात्रै खोप लगाइने भएको हो।

जिल्लाको सात गाउँपालिकाका विभिन्न स्थानमा गरी ७८ खोप केन्द्र रहेको कार्यालयले जनाएको छ। जिल्लामा रहेका ९ हजार ९४० सो उमेर समूहका बालबालिकालाई खोप लगाउने लक्ष्य भए पनि जिल्लामा ६ हजार ३७० डोज मात्रै आइपुगेको उनले बताए। जिल्ला सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका वडा नं ५ र ६ कासहित बजारका बालबालिकाका लागि खोप लगाइने भएको छ।



Leave a Reply

Your email address will not be published.