पर्वत अस्पताललाई २ करोडका उपकरण हस्तान्तरण

हेल्थपोस्ट नेपाल

पर्वत – पर्वत जिल्ला अस्पतालमा रु २ करोड बराबरका स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ। लायन्स क्लब अन्तर्राष्ट्रियअन्तर्गत पर्वत जिल्लामा क्रियाशील आठ लायन्स क्लब र लियो क्लबको समन्वय र साझेदारीमा लायन्स क्लब अन्तर्राष्ट्रिय (एलआइसिएफ) कोषको विशेष आर्थिक सहयोगमा उपकरण हस्तान्तरण गरिएको हो। लायन्स क्लबको तर्फबाट नेपालमा सबैभन्दा ठूलो सहयोग सो अस्पताललाई गरिएको छ।

सांसद पदम गिरी र कुश्मा नगरपालिकाले पनि आर्थिक सहयोग गरेको बताइएको छ। जिल्ला अस्पतालमा आइतबार आयोजित एक कार्यक्रमका उक्त सामग्री हस्तान्तरण गरिएको हो। लायन्स क्लबको तर्फबाट रु १ करोड १६ लाख ३८ हजार १२०, सांसद गिरीमार्फत स्थानीय पूर्वाधार विकास साभेदारी कार्यक्रमअन्तर्गत विनियोजित रु ३५ लाख, कुश्माले रु १५ लाख र स्थानीय लायन्स तथा लियो क्लबको जोड कोष रु ३३ लाख २५ हजार ९९५ सहित रु १ करोड ९९ लाख ६४ हजार ११५ को लागतका स्वास्थ्य उपकरण सहयोग गरिएको परियोजनाका अध्यक्ष बसन्तकुमार कर्माचार्यले जानकारी दिए।

जिल्ला अस्पतालको मागअनुसार १२ प्रकारका १३ थान अस्पताल उपकरण र चार प्रकारका २४ थान फर्निचर अस्पताललाई प्रदान गरिएको दाता संस्थाले जनाएका छन्। अत्याधुनिक एक्सरे, इसिजी, भेन्टिलेटर, अप्रेशन थिएटर, आइसियु बेडलगायतका सामग्री हस्तान्तरण गरिएको हो। लायन्स क्लब अन्तर्राष्ट्रियका पूर्वअन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतान तथा सांसद पदम गिरीबाट सामग्री हस्तान्तरण गरिएको हो। परियोजना अध्यक्ष तथा लायन्स लिडर वसन्तकुमार कमाचार्यका अनुसार अस्पतालमा आवश्यक सामग्रीले आउने बिरामीले सुविधा पाउने बताए।

लायन्स क्लब अन्तर्राष्ट्रियका पूर्वअन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले लायन्स क्लब निस्वार्थ भावनाले सामाजिक विकासका काममा लाग्दै आएको बताए। उनले नेपालमै सबैभन्दा बढी सहयोग पर्वत अस्पतालमा गर्न सकिएको बताए।

सांसद पदम गिरीले पर्वत अस्पताल सुविधा सम्पन्न बन्दै गएकोमा आफूलाई सबैभन्दा बढी खुसी लागेको बताए। जिल्ला अस्पतालमा उपकरणको अभाव नरहेकाले अब सेवा सुविधामा ध्यान दिन अस्पताल प्रशासनलाई अनुरोध गरे।

अस्पतालमा सुविधा सम्पन्न नयाँ भवन निर्माण सम्पन्न हुने चरणमा छ। उपकरणले भरिपूर्ण भएको अस्पतालमा दरबन्दी अनुसारका चिकित्सकको अभाव रहेको छ।



Leave a Reply

Your email address will not be published.