कोभिड महामारीबारे एक नर्सकाे अनुभूति- ‘हामी सबै दिक्क भइसकेका छौँ’

‘हामी तहसनहस भएका छौँ। मानसिक रूपमा थाकेका छौँ।’

यी वाक्यहरू मारिया सान्तोमिल नामकी एक स्पेनी नर्सले बारम्बार दोहोर्‍याइन्। उनी लन्डनस्थित सेन्ट मेरिज अस्पतालको आकस्मिक कक्षमा कार्यरत छिन्।

बेलायतमा पहिलो पटक कोभिड-१९ को सङ्क्रमण देखिँदा सान्तोमिल यसविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिएकी थिइन्।

उक्त महामारीमा ब्रिटिश पब्लिक हेल्थ सर्भिस एनएचएसको स्वास्थ्य सेवा अधिकतम विन्दुमा सञ्चालित थियो। साथै विश्वका अन्य राष्ट्रका स्वास्थ्य प्रणालीको पनि कार्य क्षमता जाँच गरे सरह भएको थियो।

अहिले ओमिक्रोन भेरिअन्ट पुष्टि भएसँगै इङ्गल्यान्डमा पुनः निषेधाज्ञाहरू जारी गरिएका छन्। मास्कको प्रयोग र यात्रीहरूका लागि पीसीआर परीक्षण अनिवार्य बनाइएको छ।

हाल अवस्था झनै जटिल बन्दै गएको र यस भेरिअन्टका धेरै सङ्क्रमितहरू पहिचान भएको बताइएको छ।

सङ्क्रमितहरूको वास्तविक सङ्ख्या अझै उच्च हुनसक्ने स्वास्थ्य अधिकारीहरूले आँकलन गरेका छन्।

‘सबै राम्रो होला भन्ने सुखद दिनको आशा हामीले सदैव गरिरहेका छौँ। तर त्यो दिन कहिल्यै आएन,’ सान्तोमिलले भनिन्।

बीबीसीसँगको कुराकानीमा उनले आफूजस्तै स्वास्थ्यकर्मीहरूले भोग्नु परेको कठिनाइबारे चर्चा गरिन्।

कोरोना सङ्क्रमित बिरामीहरूको (जसमध्ये अधिकांशले खोप नै लगाएका छैनन्) हेरचाहमा क्रममा दैनन्दिन बढिरहेको निराशा र महामारी पहिलोपटक देखिएयता झन्डै दुई वर्षदेखि चुलिएको थकानको समेत चर्चा गरिन्।

यो उनको कथा हो।

महामारीको सुरुवातका दिनहरू निकै अप्ठ्यारा थिए।

यस किसिमको महामारी बिल्कुल नयाँ थियो किनकि यसविरुद्ध न कुनै तयारी थियो न त सुरक्षा उपकरण नै।

मानिसहरू मरिरहेका थिए र त्यो निकै भयावह क्षण थियो। अस्पतालहरू खराब समयबाट गुज्रिरहेका थिए।

जब गत वर्ष डिसेम्बरमा हामीलाई कोभिड-१९ विरुद्धको खोप दिन थालियो, तब केही आशा जागेको थियो।

खोपपश्चात् हामी यात्रा गर्न सक्छौँ, यताउता टहल्न सक्छौँ जस्ता चर्चाहरू भएका थिए।

यस्ता भनाइहरू अन्धकारमा देखा परेको प्रकाशको झिल्को झैँ लाग्थ्यो। तर त्यसो होइन रहेछ।

सामान्य रूपमा भन्नुपर्दा कोरोना कहर केवल एक चक्रीय प्रक्रिया जस्तो भएको छ। किनकि अहिले नयाँ भेरिअन्ट पुष्टि हुँदाको जस्तै दुरावस्था हामीले डेढ वर्ष अघि भोगिसकेका छौँ।

समयक्रममा अवस्था केही सुध्रिए जस्तो हुन्छ अनि आकस्मिक कक्षका शय्याहरू रित्तिन थाल्छन्। तर सङ्क्रमितहरूको सङ्ख्या फेरि बढ्न थाल्छ र पुनः हामीले सुरुवातबाट तयारी गर्नु पर्ने हुन्छ।

आकस्मिक कक्षमा भर्ना भएका र श्वास प्रश्वास सहायता चाहिने करिब ८० प्रतिशत सङ्क्रमितहरूले कोरोना विरुद्धको खोप नै लगाएका छैनन्।

उनीहरूमध्ये कतिले आफूलाई कोरोनाभाइरसको सङ्क्रमण भएको सत्य नै स्वीकार्दैनन्। प्रायले “मलाई कोभिड-१९ होइन, निमोनिया भएको हो” भनेर अड्डी कस्छन्।

दुखद पक्ष त के भने उनीहरू कोही पनि युवा होइनन्।

तीमध्ये अधिकांश ४०, ५० वा ६० वर्ष उमेर समूहका मानिसहरू छन् जो खोप लगाउनै चाहँदैनन् र अन्ततः गम्भीर बिरामी हुन पुग्छन्।

खोप नलगाउनु स्वार्थीपना र अज्ञानता

खोपको मामिला निकै नै संवेदनशील छ। विशेषतः खोपबिनाको दुरावस्था नजिकबाट भोगेको अनुभवका आधारमा हामी यसबारे निकै सचेत छौँ।

खोप अभावमा हामी धेरैले भयावह अनुभव भोगेका छौँ त्यसैले मलाई लाग्दैन अस्पतालमा खोप लगाउन अनिच्छा देखाउने कोही स्वास्थ्यकर्मी होलान्।

किनकि कोभिड-१९ ले केसम्म गर्नसक्छ भन्ने थाहा हुँदाहुँदै कोही पनि आफ्नो जीवनलाई जोखिममा राख्न चाहँदैन। र यसले नै हामीमा भय उत्पन्न गरेको छ।

तर यो सरासर अनुचित हो कि हामी कहाँ बिनाकारण खोप लगाउन नचाहने स्वार्थी र अज्ञानी मानिसहरू पनि छन्।

खोपका बारेमा सबै जना आफू अनुकूल सोच्न स्वतन्त्र छन् – चाहे त्यसको पछाडि कुनै षडयन्त्र सिद्धान्त होस् वा अन्य कुनै कारण।

‘मानिसहरू मरिरहेका छन्’

तर हामीले अहिलेसम्म जे देखिरहेका छौँ त्यो बिल्कुलै षडयन्त्र होइन। मानिसहरू कोभिडका कारण सिकिस्त बिरामी परिरहेका छन् र मरिरहेका छन्।

धेरै मानिसहरूले आफूलाई खोपमा विश्वास नभएका कारण नलगाएको बताएका छन् र यस्ता व्यक्तिगत स्वतन्त्रताको सम्मान पनि गरिनु पर्छ।

तर हामीले धैर्यताका साथ अर्थ्याउने प्रयत्न भने जारी राख्नु पर्छ।

उनीहरूलाई “मलाई थाहा छ तपाईँ आत्तिनु भएको छ। किनकि यो खोप नयाँ हो तर मानव इतिहासक्रम नियाल्ने हो भने खोपद्वारा नै विभिन्न रोगहरू परास्त भएका छन्। र निश्चय पनि मानव जातिका लागि स्वीकृत गरिएको खोप विधिवत् र चरणबद्ध रूपमा परीक्षण गरिएका हुन्छन्” भनेर सम्झाउनु पर्छ।

खोप बहिष्कार वा लगाउन आनाकानी गर्नेहरू देख्दा कहिलेकाहीँ त यस्तो लाग्छ – सायद यी तिनै व्यक्तिहरू हुन् जो म्याकडोनाल्डमा गएर साताको पाँच वटा ह्यामबर्गर खान हिचकिचाउँदैनन् वा हानि गर्छ भन्ने थाहा हुँदाहुँदै बीसौँ वर्षदेखि गर्भनिरोधक चक्की खाइरहेका छन्। यी विषयहरूमा उनीहरूले कहिल्यै पनि संशय व्यक्त गर्दैनन्।

ताजुबको कुरा उनीहरूले खोपजस्तो जनस्वास्थ्यसँग सरोकार राख्ने संवेदनशील विषयमा भने प्रश्न गरिरहेका छन्।

यस विषयले मलाई निकै क्रोधित तुल्याउँछ। उनीहरूले स्वास्थ्यकर्मीले शतप्रतिशत दिएर आफूलाई बचाउन् भन्ने पनि अपेक्षा राख्छन्।

कहिलेकाहीँ हामीसँग आफूलाई कोरोनाभाइरसको सङ्क्रमण छ भनेर फेसबुक वा टिकटकमा प्रत्यक्ष भिडिओ प्रसारण गर्ने मानिसहरूको लर्को लाग्ने यथार्थ अवस्था पनि छ।

यो देखेर मलाई उनीहरूसँग प्रश्न गर्न मन लाग्छ: “तपाईँहरू कुन संसारमा बाँचिरहनु भएको छ?”

प्राय: अवस्थामा हामीले मानव जातिमाथि विश्वास गुमाउँदै गएका छौँ। समग्रमा हामीले मानिसको सामान्य ज्ञानमाथि पनि विश्वास गुमाउँदै गएका छौँ।

यस्तो अवस्था निकै थकानपूर्ण हुन्छ। कहिलेकाहीँ यस्ता दिनहरू पनि हुन्छन् जब तपाईँ राम्रोसँग सहन सक्नु हुन्छ, तर कुनै दिन सक्दै सक्नुहुन्न।

‘हामी सबै दिक्क भइसकेका छौँ’

अहिले अस्पतालमा हाम्रो प्रमुख चुनौती मास्क लगाउन दिइएको सुझाव अटेर गर्ने मानिसहरू हुन्।

म बुझ्छु कि हालै सरकारले घरायसी वातावरणमा मास्क लगाउनु अनिवार्य नभएको बताएको थियो। तर हामीले सुरुवातदेखि भनिरहेका छौँ कि अस्पतालमा सबैले मास्क लगाउनु जरुरी छ।

गत साता मैले कम्तीमा २० वा ३० जना मानिसलाई मास्क लगाउन आग्रह गर्नुपर्‍यो। मेरो आग्रहमाथि उनीहरूले प्रतिप्रश्न गरे: ” किन?”

उनीहरूले किन भनेर के सोध्न खोजेका?

कतिपय मानिस यस्ता पनि छन् जो मास्क नलगाउनु आफ्नो अधिकार हो भन्ने ठान्छन्। त्यस्तै केही चाहिँ कोरोनाभाइरसदेखि दिक्क भएर मास्क लगाउन छाडेको बताउँछन्।

हेर्नूस् हामी सबै दिक्क छौँ। मैले विगत दुई वर्षदेखि दैनिक १२ घण्टा मास्क लगाइरहेको छु। मेरा केही सहकर्मीहरू पनि छन् जो दम र श्वासप्रश्वास सम्बन्धी समस्याका बाबजुद पनि मास्क लगाउँछन्। त्यसैले मास्क लगाउँदा कष्ट हुन्छ भन्नु कुनै जायज बहाना होइन।

वा उदाहरणका लागि मानिसहरूले कोरोनाभाइरसको परीक्षण आफूलाई मन नपर्ने र त्यो अनुभव भयावह लाग्ने बताउँछन्।

प्रत्युत्तरमा म भन्छु: हामीले तपाईँहरूको मनको शान्तिका लागि र काममा आएर तपाईँहरूलाई मद्दत गर्न सकियोस् भन्ने हेतुले सातामा ४/४ पटक परीक्षण गर्नु पर्छ।

कतिले हामीलाई धन्यवाद पनि दिन्छन्। तर थपडी बजाउनु वा सामान्य धन्यवाद मात्र भन्नु हामीप्रति धन्य भाव व्यक्त गर्ने उचित तरिका होइन।

वास्तवमा हामी मानिसहरूले खोप लगाएर उनीहरू आफ्नो ख्याल आफै राख्न सकून् र हामीले सुझाएको बेला मास्क लगाएको हेर्न चाहन्छौँ । र यो हामीले हाम्रो मात्र नभई सबैको भलाइ चाहेर भनेको हो।

‘नियम अवज्ञा गर्दा काम निरर्थक’

निषेधाज्ञाका बाबजुद हामी सबै नियम पालना गर्न तत्पर छौँ। तर कोही दुई जना मात्रले पनि नियम अवज्ञा गर्दा सारा काम निरर्थक हुन पुग्छ। यो निकै नै निराशाजनक अवस्था हो।

अहिले हामी फैलँदै गरेको ओमिक्रोन भेरिअन्टको चपेटामा छौँ। यसले के प्रमाणित गर्छ भने कुनै राष्ट्र वा कुनै निश्चित समुदायले यसलाई नियन्त्रणमा ल्याउँदैमा त्यो पर्याप्त हुँदैन।

यसका लागि विश्वभरका राष्ट्र र मानिसहरूको सङ्गठित योगदान र स्वास्थ्य मापदण्डको पालना हुनु आवश्यक छ।

अन्यथा यसबाट मुक्ति पाउनुको अरू विकल्प छैन। र त्यसपछि हामीसँग गर्न बाँकी केही हुने छैन। हामी निरन्तर कोरोनाभाइरसको चक्रमा रहिरहने छौँ।

‘हाम्रो धैर्यताको बाँध टुट्दै छ’

हामी स्वास्थ्यकर्मी हौँ तर हामी मानव पनि त हौँ। अरूलाई जस्तै हामीलाई पनि आफ्नो परिवारको न्यास्रो लाग्छ।

कोरोना महामारीयता हाम्रा योजनाहरू बद्लिएका छन्। सम्भवतः आम मानिसभन्दा हामी निकै थकित छौँ र हाम्रो धैर्यताको बाँध टुट्दै छ।

यसलाई स्वास्थ्यकर्मीले बारम्बार र धेरै मात्रामा लिन थालेको बिरामी बिदाको सङ्ख्याले पनि सङ्केत गर्छ।

हामीले धेरै स्वास्थ्यकर्मी समस्याहरू भोगिरहेका छौँ। पहिलो हामीकहाँ धेरै सङ्क्रमित वा अन्य कुराबाट बिरामी भएका मानिसहरू छन्। साथै हामीले हाम्रा सीमित कर्मचारीहरूलाई अतिरिक्त समय खटाइरहेका छौँ।

किनकि हामीलाई सधैँ लाग्थ्यो: “हामी यी सबै समस्याहरूबाट बाहिर निस्कने छौँ।” तर दुई वर्षको समयमा हामी शारीरिक र मानसिक रूपमा निकै थाकेका छौँ।

यो नयाँ रोगविरुद्ध लड्ने सुरुवातका दिनको जस्तो जोस अब हामीमा बाँकी रहेन।

पहिले यात्राका दौरान मानिसलाई क्वारन्टीन बस्न सुझाइँदा उनीहरू यात्रा स्थगन गरेर स्थिति सामान्य होस् भनेर पर्खने गर्थे।

तर अहिले अवस्था भिन्न छ। मैले पनि विगत एक वर्षदेखि आफ्नो परिवार भेटेकी छैन। क्वारन्टीन नै बस्न परे पनि म जानेछु। तर यसले अन्य सहकर्मीहरूलाई प्रत्यक्ष प्रभाव पार्नेछ।

हामीलाई यो सोच्न सचेत पारिएको छ कि यो भाइरस सहजै समाप्त हुँदैन। हामीले वर्षौँसम्म मास्क लगाउनु पर्छ भन्ने तथ्यबारे पनि सचेत छौँ। सायद आजीवन लगाउनु पर्ने पनि हुनसक्छ।

तर समस्या अनिश्चितता हो र यो कहिलेसम्म यसरी चलिरहन्छ भन्ने कुरा अन्योलपूर्ण छ।

कुन हदसम्म यसले जनजीवनमा प्रभाव पार्ला? ज्वरो आएका कारण काममा जान नसक्नु वा आफ्नो बच्चालाई स्कुलसम्म लैजान नसक्नु? सहजै भन्न गाह्रो छ।

काम नगर्दाको समय हामी पनि जीवनको आनन्द लिन चाहन्छौँ। र मलाई लाग्छ स्वास्थ्यकर्मीहरूको जीवनको यही पाटो नमज्जाले प्रभावित भएको छ।

कोरोनाभाइरसको यस चक्रबाट तपाईँ उम्कन सक्नुहुन्न भन्ने कुरा निकै अत्यासलाग्दो छ। एउटा त्यस्तो दुष्चक्र जहाँ सबै कुरा कोभिड-१९ हो।

बीबीसीबाट



Leave a Reply

Your email address will not be published. Required fields are marked *