बेलायतमा कोरोना कहर : संक्रमणको दैनिक संख्याले बनायो रेकर्ड, बढे बुस्टर डोज लिने

हेल्थपोस्ट नेपाल

बेलायतमा पछिल्ला दुई दिनमा कोरोना संक्रमितका संख्यामा रेकर्ड कायम भइरहेका छन्। बुधबार ७८ हजारभन्दा बढी नयाँ संक्रमित भेटिए पनि बिहीबार संक्रमितको संख्या ८८ हजार नाघेको छ।

यसअघि बेलायतमा कोरोना संक्रमणको ठूलो रेकर्ड जनवरी महिनामा रेकर्ड गरिएको थियो। ८ जनवरीमा सबैभन्दा बढी ६८ हजार ५३ केस दर्ता भएका थिए। यो बेला बेलायतमा लकडाउन लागू भएको समय थियो। तर, बिहीबार ८८ हजार ३७६ नयाँ केस पुष्टि भएपछि सबै रेकर्ड तोडिएको छ।

बेलायतका प्रमुख मेडिकल अफिसर प्रोफेसर क्रिस व्हिट्टीले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ चाँडै बेलायतमा महामारीका रुपमा फैलिन सक्ने चेतावनी दिए। यसको समयमै नियन्त्रणका लागि बुस्टर डोजले सहयोग गर्ने उनले बताए।

एकातिर बेलायतमा कोरोनाका केसले दिनप्रतिदिन नयाँ कीर्तिमान बनाइरहेका बेला बुस्टर भ्याक्सिनलाई लिएर पनि नयाँ रेकर्ड बनिरहेका छन्। बुधबार बेलायतमा ७ लाख ४५ हजार १८३ बुस्टर डोज दिइएको थियो, जुन एउटा कीर्तिमानी संख्या हो।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले मानिसहरूलाई भेरियन्टको मामिलामा सावधानी अपनाउन आग्रह गरेका छन्। तर, उनले अहिले नै लकडाउन लगाउन लागिएको भन्ने खबरको भने खण्डन गरेका छन्।



Leave a Reply

Your email address will not be published.