अब देखि अशक्त भएकालाई घर–घरमै कोरोना खोप

हेल्थपोस्ट नेपाल

कञ्चनपुर- अशक्त अपाङ्गता भएका व्यक्तिको घरदैलोमै पुगेर यहाँ कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको छ। लुथरन विश्व फेडरेसनको सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घको समन्वयमा जिल्लाका नौवटै स्थानीय तहमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो।

कोरोना प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग परियोजनाअन्तर्गत कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको परियोजना अधिकृत मीन हुडकेले बताए।

शुक्लाफाँटा, पुनर्वास, कृष्णपुर तथा दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकाका गरी एक हजार दुई सय अशक्त अपाङ्गता र ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइएको उनले बताए।

‘सम्बन्धित पालिकासँग समन्वय गरी अशक्त ज्येष्ठ नागरिक, ‘क’ र ‘ख’ वर्गको परिचयपत्रवाहक अपाङ्गता भएका व्यक्तिलाई खोप लगाउने अभियान सञ्चालन गरेका छौँ,’ हुडकेले भने, ‘पालिकाको सहयोगमा तथ्याङ्क लिने कार्यसँगै स्वास्थ्यकर्मीको व्यवस्था र खोपको व्यवस्था गरिएको छ।’

खोप लगाउने व्यक्तिको पहिचान गरी घरमै पुगेर खोप लगाउने व्यवस्था गरिएको उनले बताए। अशक्त ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति खोप केन्द्रसम्म पुग्न सक्दैनन्। खोपबाट कोही पनि नछुटून् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका छौँ’, उनले भने, ‘स्वास्थ्यकर्मी, औषधिसहितको टोली घरदैलोमै पुर्‍याउने कार्यका लागि सवारीसाधनको समेत व्यवस्था मिलाएका छौँ।’

पाँच पालिकाका अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई पहिलो चरणको खोप लगाउने कार्य गरिसकिएको उल्लेख गर्दै उनले बाँकी भीमदत्त, बेदकोट तथा बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकामा अभियान सञ्चालनको तयारी भइरहेको बताए। अभियानमा महिला स्वास्थ्य स्वयंसेविकाले अशक्त ज्येष्ठ तथा अपाङ्गता भएका व्यक्तिको पहिचान गरी तथ्याङ्क उपलब्ध गराउन अहम् भूमिका खेलेको उनकाे भनाइ छ।

प्रतिपालिकामा दुई सयजना अशक्त अपाङ्गता र ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य रहेको अधिकृत हुडकेले बताए। उनका अनुसार अभियानमा प्राविधिक सहयोग सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपालले उपलब्ध गराएको छ।



Leave a Reply

Your email address will not be published.